नारायणी नदीकिनारमा पानीपुरी र आइसक्रिम बेच्दै आएका बाराका गोलु यादव लकडाउनले व्यवसाय ठप्प भएपछि अहिले के खाने भन्ने चिन्तामा छन् । पानीपुरी र आइसक्रिम बिक्न छाडेपछि त्यही ठेलामा उनले तरकारी पनि बेचे । निषेधाज्ञा थपिँदै गयो, जोखिम बढ्दै गयो, टाढाटाढाबाट तरकारी ल्याएर बिक्री गर्न सम्भव नभएपछि अहिले उनी नारायणी नदीकिनारमै निःशुल्क एक छाक भात खाएर दिन बिताउँछन् । ‘काम गरेर खान्छु भन्दा पनि पाइएन । अरूले दिएको खानु हाम्रो बाध्यता हो । पसिना बगाएर सामान्य अवस्थामा पेट भरेकै थिएँ । बचेको पैसा घर पनि पठाउँथे,’ उनी भन्छन् ।
उदयपुर घर बताउने गोविन्द खतिवडा नौ वर्षदेखि चितवनमा ठेला चलाउँदै आफ्नो गुजारा चलाउँदै आएका थिए । चारमहिने बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाकै बीचमा उनलाई स्वास्थ्यमा समस्या देखियो । पाँच महिनाअघि रगत नै बान्ता गर्न थालेपछि काम गर्न नसक्ने भएका उनलाई अस्पतालमा पुगेपछि क्षयरोग लगेको थाहा भयो । नारायणी नदीकिनारमा क्षयरोगको औषधि देखाउँदै खतिवडाले भने, ‘औषधि सेवन गर्नुपर्ने भएकाले यहाँ भात खान आएको हुँ । चिकित्सकले प्रशस्त रूपमा खानेकुरा फलफूल, माछामासु खान सल्लाह दिएका छन्, औषधि खाँदा झन् धेरै भोक लाग्छ, तर पैसा नहुँदा मन लागेको खानेकुरा खान पाएको छैन । धन्न एक छाक भात खान पाएको छु ।’ चिकित्सकले उनलाई ६ महिना औषधि खानुपर्ने बताएका छन् ।
१० वर्षअघि अन्तर्जातीय बिहे गरेका धादिङका रुद्र घले र पूजा परियार पारिवारिक कारणले घरमा बस्न सकेनन् । कामको खोजीमा उनीहरू चितवन आइपुगे । चितवन आएदेखि नै मजदुरी गर्दै आए पनि लकडाउनयता कामविहीन भएको पूजा परियार दुःखेसो गर्छिन् । ‘काम नभएपछि खान बस्न समस्या भयो । केही महिनादेखि हामी हस्पिटल वा यसकै वरिपरिका प्रतीक्षालयमा रात बिताउँदै आएका छौँ । दुई छोरा पनि छन्, उनीहरूलाई चिनेको एक साथीलाई पाल्न जिम्मा लगाएका थियौँ । आवश्यक पर्दा खाद्यान्न लगिदिन्थे अहिले काम नहुँदा कमाइ पनि छैन,’ रुद्र भन्छन् ।
आँखा नदेख्ने श्रीमतीको हात राम्रोसँग साबुनपानीले सफा गरिदिएपछि रामबहादुर घिसिङ खाना खाँदै थिए । प्रायः सादा दाल, भात, तरकारी, अचार हुने खानामा बिहीबार भने कुखुराको मासु थियो । दृष्टिविहीन घिसिङकी श्रीमती पुष्पा मल्लले भनिन्, ‘आज मासुभात पाइयो ।’ एक वर्षअघिदेखि पुष्पाले आँखा देख्न छाडेकी हुन् । श्रीमतीले आँखा देख्न छाडेपछि राम एक्लैले भारी बोक्दै आएका छन् । कोरोनाले काम गुमेको बताउँदै उनले भने, ‘कोरोना महामारीजस्तो अरू विपत् देखेको थिइनँ । काम नपाएपछि यसरी नै जसले खान दिन्छ, उसैको बाटो कुरेर बस्नुपर्ने अवस्था आयो ।’ दुई दिनअघि सित्तैमा नारायणी नदीकिनारमा भात खान पाइन्छ भन्ने थाहा पाएपछि उनी श्रीमती लिएर यहाँ आएका हुन् ।
‘कोरोना महामारीजस्तो अरू विपत् देखेको थिइनँ । काम नपाएपछि यसरी नै जसले खान दिन्छ, उसैको बाटो कुरेर बस्नुपर्ने अवस्था आयो ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा अब गरिबीका कारण कोही भोकै नमर्ने बताएकी थिइन् । प्रधानमन्त्री केपी ओलीले पनि अबदेखि ‘सडक मानिस’ देख्न नपर्ने र देशमा कोही भोको नहुने बताउँदै आएका छन् । तर, कोरोना महामारीपछि रोजगारी गुमेकाले धेरै मानिस सडकमा आइपुगेका छन् । पाँच महिना लामो बन्दाबन्दीका कारण पैसा र खानेकुरा नहुँदा भोकाको संख्या बढ्दै गएको छ ।
यति बेला चितवनमा निषेधाज्ञा छ । तर, सडकमा बेसहारा र भोकाको संख्या बढ्दै गएको छ । भरतपुरका मुख्य क्षेत्र निषेधाज्ञाका कारण सुनसान भए पनि नारायणगढको नारायणी नदीकिनारमा केही दिनयता बिहानदेखि मानिसहरूको चहलपहल छ । कोरोना संक्रमणको उच्च जोखिममा रहेको चितवनमा बिहानैदेखि सडकमा देखिने ठूलो समूह सडक मजदुर र बेसहारा बालबालिका हुन् । निःशुल्क खाना खान पाउने आशामा भोकले भाँैतारिँदै उनीहरू यहाँ आएका हुन्।