काठमाडौँ- बुधबार निर्धारित नेकपा सचिवालय बैठकमा सामेल नहुने अडानमा रहेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ओलीमाथि आफ्नै समूहबाट पार्टी एकतासँगै आफ्नो पद जोगाउन केही लचकता देखाउन दबाब परेको छ।
पूर्वनिर्धारित केन्द्रीय सचिवालय बैठक सुरु हुन एक दिन मात्र बाँकी रहँदा ओली समूहका प्रभावशाली नेताहरुले भोलिको बैठकमा सामेल भएर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रस्तावमाथि अर्को दिन छलफल गर्नेगरी सर्वसम्मतिले अर्को सचिवालय बैठकको मिति तय गर्न दबाब दिएका हुन् ।
त्यसो नभए भोलिको बैठक नै दुईचारदिन पर धकेल्न सफल हुनुपर्ने दबाब पनि ओलीमाथि परेको छ। सोमबारसम्म ओली पक्षले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म सचिवालय बैठकमा सामेल नहुने मात्रै होइन, संवादसमेत नगर्ने आडन लिँदै आएको थियो।
प्रचण्डले आफ्नो प्रस्तावमा ओलीले भ्रष्टाचार, आफन्तवाद र एकाधिकारवादलाई प्रोत्साहन गरेको र पार्टीलाई बेवास्ता गरेको भन्दै गम्भीर समिक्षा र आत्मालोचनाका साथै पद त्याग गर्न आग्रह गरेका छन्।
कार्तिक २८ गतेको सचिवालय बैठकमा प्रचण्डले यो प्रस्ताव पेश गरेपछि उनी र ओलीबीच संवाद भएको छैन।
ओली पक्षका नेता सुवास नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेललगायत नेताहरुले ओलीलाई पार्टी एकता र आफ्नो पद जोगाउन बैठक दुईचार दिन लम्बाउन तिब्र पहल गनुपर्नेमा दबाब दिएका हुन्।
नेता नेम्वाङले भने, ‘मैले दुबै अध्यक्षलाई तपाईँहरु बैठक बस्नासाथ झगडा गरिहाल्नु हुन्छ, त्यसकारण कुलिङ पिरियड सिर्जना गर्नुपर्यो, अहिलेलाई केही दिनका लागि बैठक स्थगित गर्नुहोस्, यो बीचमा तपाईँहरु ठन्डा दिमागले सोच्नुहोस् भनेका छौँ। अनौपचारिक विभिन्न तहमा छलफल गरेर ठोष निष्कर्ष निकालौँ भनेका छौँ ।’
नेम्वाङले यस्तो बेलामा एक ठाउँमा बैठक गर्नु राम्रो नभएको, बैठक बस्नासाथ पुरानै प्रश्न उठ्ने भएकाले बैठक नै धकेल्नु सबैभन्दा राम्रो हुने आफूहरुले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको बताए। नेम्वाङका अनुसार ओलीले पनि हिजोअस्ति भन्दा मंगलबार केही लचकतासमेत प्रर्दशन गरेका छन्।
‘म बैठकका लागि तयार नै छु। पार्टी एकताबद्ध बनाएरै अघि बढ्ने हो। पार्टीलाई एक ढिक्का बनाउन मैले गर्नुपर्ने कुरा जम्मै गर्छु, मैले यो कुरा दोहोर्याउँछु,’ ओलीको भनाइ उद्धृत गर्दै नेम्वाङले भने। बैठक सरेमा दुबैतर्फको आक्रोश र द्वन्द्वमा पिल्सिएको पार्टीमा एकता बचाउन ‘कुलिङ पिरियड’ सिर्जना हुने उनीहरुको बुझाइ छ।
राष्ट्रपतिको निमन्त्रणालाई पटकपटक बेवास्ता गर्दै आएका प्रचण्ड मगंलबार साँझ शितल निवास पुग्नु र राष्ट्रपति विद्यादेवी भण्डारीसँग करिव दुई घण्टा छलफल गर्नुलाई पनि ‘कुलिङ पिरियड’को निर्माणकै पक्षमा राष्ट्रपति लागेको र ‘मरता क्या न करता’ को विन्दुमा पुगेका ओलीको पनि ‘ग्रिन सिग्नल’ आएको आंकलन गरिएको छ।
स्रोतका अनुसार प्रचण्डले ओलीबाट दलविभाजन सम्बन्धी अध्यादेश ल्याउने या संसद विघटन गर्ने जस्ता असंवैधानिक कदम चाल्ने प्रयास भएमा त्यसलाई रोक्न राष्ट्रपति भण्डारीलाई अनुरोध गरेका छन्।
‘हामीले तपाईँलाई पनि विगतमा सहयोग गरेका छौँ। केहीसिप नलागेपछि हामी विरोधमा उत्रिनु परेको हो। तपाईँ हाम्रो पनि राष्ट्रपति हो। पार्टी एकताको रक्षाका लागि प्रधानमन्त्रीलाई सम्झाइदिनुहोस्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
मगंलबार राष्ट्रपति भण्डारीले प्रचण्डलाई ‘तपाईहरु मिल्नुको विकल्प छैन’ भन्दै मनाउने कोशिस गरेकी थिइन्।
ओलीको समूहमा देखिएको लचकतालाई पछिल्लो पटक विकसित केही घटनाहरुले प्रभावित पनि पारेका छन्।
प्रचण्डलाई छोडेर ओलीतिर ढल्किएका पूर्वमाओवादी पृष्ठभूमिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भोलिको बैठक ओली समूहले बहिस्कार गरेपनि आफू त्यसमा जाने संकेत दिएर ओली पक्षलाई थप हतोत्साहित गराएका छन्।
वारपारको लडाईँमा जानुपर्ने ओलीमाथि अर्को दबाब
तर ओली पक्षकै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, केही सल्लाहकारहरु र स्थायी कमिटी सदस्यहरुबाट सँधै ‘ब्ल्याक मेल’ को सिकार हुनुभन्दा वारपारकै लडाईँमा जानु पर्ने दबाब पनि ओलीमाथि चर्कोरुपमा परेको छ।
यो दबाब दिनेहरुले केही दिन यता सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्तावले पार्टी फुटको संघारमा पुगेको घोषणासमेत गरेका थिए। प्रस्ताव फिर्ता नलिएमा भोलीको बैठक मात्रै नभई संवादसमेत अघि नबढ्ने चेतावनीसमेत उनीहरुबाट आएको थियो।
यसो त ओलीले पनि माधव नेपालको नेतृत्वमा पूर्वएमालेहरुलाई एक ठाउँमा ल्याएर प्रचण्डलाई अलग्याउनेबारे पनि उत्तिकै छलफल गरिरहेको बुझिएको छ।
ओली सामेल भए भोलिको बैठकले अर्को बैठक तोक्न झिनो सम्भावना
यता प्रचण्ड-नेपाल पक्ष भने भोलिको बैठकमा ओली सामेल भएमा सोही बैठकबाट अर्को केन्द्रीय सचिवालय बैठक डाकेर प्रचण्डद्धारा पेश गरिएको प्रस्तावमाथि छलफल गर्न सकिने झिनो सम्भावना रहेको बताउँछ।
प्रचण्डले महासचिव पौडेललाई त्यसको संकेतसमेत दिइसकेका छन्। मगंलबार बिहान पार्टी एकताको रक्षाका लागि बैठक दुई चारदिन पर धकल्न अनुरोधसहित पौडेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
जबाफमा प्रचण्डले कमिटी बैठकबाट गरिएको निर्णयबिपरीत आफू एक्लैले बैठक सार्न नसक्ने बरु प्रधानमन्त्री ओली बैठकमा सामेल भए के गर्ने भन्नेबारे त्यतिबेलै निर्णय लिउँला भनेर केही लचकता प्रर्दशन गरेको स्रोत बताउँछ।
‘बैठक कुनै पनि हालतमा सर्दैन। बरु प्रधानमन्त्री सामेल भएको खण्डमा अब के गर्ने भन्नेबार बैठकमै छलफल गरौँला,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो।
त्यसपछि ओली सामेल भए बैठक सर्न सक्ने प्रचण्डको झिनो संकेत बोकेर पौडेल बालुवाटार पुगेका थिए।
ओलीविरुद्धको रणनीतिमा असन्तुष्ट समूह विभाजित
पार्टी उच्चस्रोतका अनुसार यो बीचमा भएका छलफलहरुमा ओलीले प्रचण्डलाई समर्थन गरिरहेका माधव नेपाललाई आफ्नो विरोध नगर्ने शर्तमा आफू हटी उनलाई पार्टी अध्यक्ष दिने प्रस्ताव राखेका छन्।
तर प्रचण्ड-नेपाल समूहले ओलीसँग एक्लाएक्ला ‘डिल’ नगर्ने बरु सबै किसिमका समस्यालाई सामूहिक निर्णयका साथ समाधान गर्ने सहमति गरेकाले त्यो प्रस्ताव यो समूहको एजेण्डा बन्न सकेन।
तर ओली पक्षमा जस्तै यो समूह पनि ओलीविरुद्धको आगामी रणनीतिमा विभाजित देखिएको छ। ओली समूहमा लचकता देखाउने या वारपारको लडाईँमा जानेबारे फरक मत देखिएजस्तै प्रचण्ड-नेपाल पक्षमा ओलीलाई प्रधामन्त्रीबाट मात्रै हटाउने कि पार्टी अध्यक्षबाट पनि हटाउने भन्नेमा फरक मत देखिएको हो।
खासगरी पूर्व एमाले नेता भीम रावल, रघुजी पन्तलगायतकेही नेताहरु पार्टी अध्यक्षबाट ओली हट्नुपर्ने मान्यता राख्न थालेका छन् भने पूर्वमाओवादी प्रचण्ड, नारााणकाजी श्रेष्ठलगायत नेताहरु ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने अडानमा छन्।
तर भोलिको बैठकमा ओली सामेल भएमा र आगामी कमिटी बैठकहरुमा सक्रियताका साथ भाग लिएर आत्मालोचना गर्दै सच्चिएर अघि बढेमा ओलीको दुबै पद जोगिने झिनो सम्भावना पनि कायमै छ।