यस वर्ष पनि जुम्लाबाट काँचो स्याउ निर्यात भएको छ । भदौ दोस्रो साताबाट मात्र स्याउ टिप्न र बिक्री गर्न कृषि विज्ञले सम्झाए पनि जुम्लाका केही किसान तथा व्यापारीले अटेरी गरेर काँचो स्याउ निर्यात गरेका हुन् ।
अन्य स्याउ भन्दा जुम्ल्लाको स्यानीय जातको स्याउ काँचै निर्यात भएको हो । कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, “जुम्ली स्याउले हाल कलर मात्रै हालेको छ । गुलियोपना भरिन अझै २० प्रतिशत बाँकी छ । तर किसानले बढी पैसा कमाउने दाउले परिपक्क नहुँदै स्याउ नेपालगञ्ज काठमाडौं पठाएका छन् । यसले गर्दा स्याउको बजारीकरणमा दीर्घकालिन असर पर्ने निश्चित छ ।
जिल्ला कृषि विकास कार्यालयले भदौ १० गतेसम्म स्याउ नटिप्न सबै किसानलाई अनुरोध तथा चोरी निकासीलाई रोक्न प्रहरीलाई पत्राचार गरेको छ । तर वडा, गाउँपालिकाका जनप्रतिनिधिले हचुवामै दिएका सिफारिसका भरमा काँचो स्याउ साउन दोस्रो साता नै सुर्खेत, नेपालगञ्ज, काठमाडौं पुगेको कृषि विकास कार्यालयका प्रमुख देवकाटाले जानकारी दिए ।
साउन तेस्रो हप्तामै स्याउ टिपेर बिक्री गर्ने किसान व्यापारीकै कारण जुम्लाको स्याउ खेतीलाई विस्थापित गर्ने र दीर्घकालिन रुपमा असर पर्ने निश्चित भएको छ । यसलाई रोक्न सर्वपक्षियत बलियो संयन्त्र बनाउनु पर्ने किसान सरोज शाहीले बताए ।
तातोपानी र लिता गाउँपालिकाबाट ३÷४ ट्रक काँचो स्याउ निर्यात भएर बिक्रीसमेत भइरहेको छ । रातो रंग भरेकै आधारमा स्याउ पाक्यो भन्नु गलत भएको देवकोटा बताउँछन् । भदौ १० गतेसम्म कसैलाई स्याउ निर्यात गर्न नदिन विभिन्न चौकीमा सूचना गरिएको देवकोटाले बताए ।
कृषि कार्यालय भदौ दोस्रो सातासम्म स्याउ नटिप्न सूचना गर्ने, जनप्रतिनिधिले हचुवाकै भरमा सिफारिस दिने गरेकै कारण हरेक वर्ष काँचो स्याउ निर्यात हुने गरेको छ । काँचो स्याउ निर्यात क्षणिक कमाई बढी हुने निश्चित व्यक्तिलाई फाइदा भएपनि समग्र जुम्लाको आर्थिक विकास कमजोर हुने र जुम्ली अर्गानिक स्याउको पहिचान जोगाउनै मुस्किल हुने वरिष्ठ किसान रामकृष्ण बुढ्थापाले बताए ।