राष्ट्रपतिका लागि उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज उम्मेदवारी फिर्ता लिन पाउने

हिमशिखर सम्वाददाता काठमाण्डौ १६ फाल्गुन २०७९, मंगलवार ०७:२२

राष्ट्रपतिका लागि उम्मेदवारी दिएका दिएका तर उम्मेदवार बन्न नचाहेका व्यक्तिले आज  आफ्नो उम्मेदवारी फिर्ता लिन पाउने छन्  । राष्ट्रपति निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी फिर्ता लिन पाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।  राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङको उम्मेदवारी परेको छ । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति चुनावमा फेरि उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।

राष्ट्रपतिका लागि आउँदो २५ गते चुनाव हुँदैछ । बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । २५ गते मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । त्यही दिन बेलुकी ७ बजेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय रहेको परिसरभित्रै मतदान केन्द्र रहनेछ । राष्ट्रपति चुनावका लागि सङ्घीय संसद् सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र हुनेछ । सङ्घीय संसद् र प्रदेश सभा सदस्यको मतभार फरक हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ । कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुनेछन् । त्यसरी बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ । त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछन् ।

बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीचको मतदानबाट समेत कुनै उम्मेदवारले कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा फेरि मतदान हुनेछ । त्यस्तो मतदानमा खसेको कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

Next Post

प्रधानमन्त्री प्रचण्डले सम्हालेका मन्त्रालयको सङ्ख्या १६ वटा पुग्यो

१६ फाल्गुन २०७९, मंगलवार ०७:२२
नेकपा एमालेका मन्त्रीले राजीनामा दिएपछि उनीहरूले सम्हालेका मन्त्रालय पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफैँसँग राख्नुभएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले छाडेका तीन मन्त्री र एक राज्यमन्त्री तथा राप्रपाले छाडेका तीन मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी आफैँसँग राख्नुभएका प्रधानमन्त्री प्रचण्डले एमालेका आठ मन्त्रीले छाडेका मन्त्रालय पनि आफैँसँग राख्नुभएको छ । […]