बन्द कर्णाली राजमार्ग आज पनि खुलेन

प्रबचन हमाल २६ श्रावण २०८०, शुक्रबार १०:३२

कर्णाली राजमार्गको जुम्लास्थित तातोपानी र चन्दननाथको सिमाना उमगाड खण्डमा अझै अवरोध कायम छ । युवक बेपत्ता तथा मृत्यु प्रकरणमा जुम्ला जिल्ला अदालत र उच्च अदालतको फैसलाको विरोधमा जुम्ला चन्दननाथ नगरपालिका–९ वयालकाटीय गाउँका स्थानीयले बिहीबार बिहान ४ बजेदेखि नै सडक बन्द गरेका थिए ।

उनीहरूले सडकमा विद्युत्‌का पोल र ढुंगाको पर्खाल लगाएर सडक बन्द गरेका छन् ।

बन्द खुलाउन जिल्ला सुरक्षा समितिको टोली वयालकाटीया गाउँमा पुगेर छलफल गरेको थियो । मृतक युवाका आफन्तहरुका मागहरु पूरा गर्न नसकिने भन्दै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सहितको टोली फर्किएपछि सडक खुल्ने अनिश्चित बनेको हो । ‘जिल्लाबाट प्रमुख जिल्ला अधिकारी आउनुभयो । उहाँहरुसँग वार्ता भयो तर हाम्रा मागहरु पूरा गर्न आनाकानी गरेपछि वार्ता बिनानिष्कर्ष टुंगियो,’ वयालकाटीयाका तुलराज गिरीले भने, ‘जबसम्म पीडितका मागहरु पूरा हुँदैनन् । तबसम्म आन्दोलन रोकिँदैन । सडक खुल्दैन ।’

बिहानैदेखि सडक बन्द गरेकाले सुर्खेत-नेपालगन्ज छुट्ने सवारीसाधन रोकिँदा टिकट काटेका सयौं यात्रुहरू अलपत्र छन् । बिरामी बोक्ने एम्बुलेन्सदेखि स्कुल बसहरू चल्न पाएका छैनन् । बिहानैदेखि बन्द गराएको क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

२०७७ असोज १५ गते वयालकाटीया गाउँका ट्र्याक्टर चालक धन गिरी गुठीचौर गाउँपालिकाको लामाखर्कबाट बेपत्ता भएका थिए । तीन वर्षदेखि उनी बेपत्ता भएकोले खोजबिनको मागसमेत उनीहरूले गरेका छन् । धन गिरीका आफन्तहरुले प्रहरी कार्यालयदेखि नै नक्कली मिसिल खडा गरेर आफूहरुलाई जिल्ला र उच्च अदालतमा हराएको आरोप लगाएका छन ।

प्रहरीले धन गिरी बेपत्ता भएको स्थानबाट रगतसमेत ल्याएको थियो । नजिकैका मानिसहरुसँग सोधपुछ समेत गरेको थियो । तर ती कुराहरु मिसिलमा समेटिएको छैन । उनले भने, ‘मिसिल नक्कली बन्यो । डिएनए रिपोर्ट अनुसन्धानको प्रतिवेदनबाटै गायब गरियो ।’ उनीहरुले पहिलेकै मिसिल अदालतमा पेस गर्नुपर्ने र डिएनएको रिपोर्टसमेत समेटेर सर्वोच्च अदालतमा मुद्दा फर्वाड गर्नुपर्ने माग गरेका छन् । आफूहरुको पक्षमा फैसला नगर्ने न्यायाधीसविरुद्ध न्याय परिषद्‌मा मुद्दा दर्ता गर्नेसमेत उनीहरुले बताएका छन् ।

ट्र्याक्टर चालक गिरी बेपत्ता भइसकेपछि आफन्तहरूले चार जनाविरूद्ध किटान जाहेरी दिए । उनीहरूलाई प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानमा पक्राउ परेकाहरूले आफूहरूले २ सय मिटर लखेटेको स्वीकारेका थिए । तर उनीहरुलाई २५ दिन थुनामा राखेर कारागार पठाउने बेला अदालतले धरौटीमा छाडिएको आरोप उनीहरुको छ ।

२०७८ जेठ ७ गते चन्दननाथ–९ स्थित नाइकाटापुमा बेवारिसे शव भेटियो । शव कुकुरले आधा खाइसकेका थिए । उचाइ र शरीरको बनावट मिलेपछि आफन्तहरूले शव घरमा ल्याए । प्रहरीले डीएनए परीक्षण गर्नुपर्ने भन्दै अस्पताल लियो । ‘अहिलेसम्म न डीएनए रिपोर्ट आयो, न त बेपत्ता भएको धन नै भेटिए,’ स्थानीय तुलराज गिरीले भने, ‘डीएनए परीक्षणका लागि लिएको कंकालसमेत हरायो । यदि परीक्षण रिपोर्ट आइसकेको भए प्रतिवदनमा पेस भएन,’ उनले भने, ‘हामी पीडितहरूलाई स्पष्ट जानकारी चाहिन्छ ।’

डीएनए परीक्षण रिपोर्टबिनै २०७९ चैत १२ गते जिल्ला अदालतले उनीहरूको विपक्षमा फैसला गर्‍यो । उनीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरे । तर उच्चले पनि २०८० असार ३ गते डीएनए परीक्षणको रिपोर्ट नभएको भन्दै जिल्ला अदालतको फैसला सदर गरिदियो । तुलराजले भने, ‘डीएनए परीक्षण रिपोर्टबिनै फैसला गर्ने न्यायाधीशहरूलाई अनुसन्धानको दायरामा ल्याउन माग गर्दछौं ।’ तीन हप्तादेखि उनीहरू अदालत धाइरहेका छन्,’ धन गिरीकी भाउजु कुसुमी गिरीले न्यायालयबाटै आफूहरू अन्यायमा परेको बताइन् ।

मृतक परिवारलाई राहत र दोषीलाई कारबाही नगर्दासम्म सडक नखुल्ने उनले बताइन् । ‘कि धन गिरीको लास चाहियो र कि त सासको चाहियो,’ उनले भनिन्, ‘अनाहकमा राज्यले हामी पीडित परिवारलाई अन्याय गर्न पाइँदैन ।’ बेपत्ता धन गिरीका एक छोरा दुई छोरी अलपत्र अवस्थामा छन् । उनकी पत्नीले छोराछोरीलाई इटहरीमा लिएर आफूले काम गरेर पालिरहेको स्थानीयले बताए ।

यात्रुहरुले तत्काल सडक खुलाएर आवागमन सहज बनाउन माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक यमबहादुर बुढामगरले दिनभर बसेको वार्ता निष्कर्षमा नपुगेकोले सडक खुल्ने सम्भावना नरहेको बताए । उनले भने, ‘बिहीबार सडक खुल्ने सम्भावना छैन । शुक्रबार फेरि वार्ता गर्ने भनिएको छ । भोलि नै टुंगो लाग्ला ।’

Next Post

बन्द कर्णाली राजमार्ग ३४ घण्टापछि खुल्याे

२६ श्रावण २०८०, शुक्रबार १०:३२
बेपत्ता चालक धन गिरीले न्याय नपाएकाे भन्दै पिडित पक्षद्दारा बन्द कर्णाली राजमार्ग खुलेकाे छ । विहिबार विहान करिब ४: बजेदेखि अबरुद्द राजमार्ग शुक्रबार २ बजे राजमार्ग खुलेकाे हाे । खाेज उद्दार तथा अनुसन्धानका लागि केन्द्रकाे विज्ञ टाेलि खटाउन पहल गर्ने, आजै पत्र पठाउने,छाेराछाेरीकाे पठनपाठनकाे तथा राेजगारीकाे व्यवस्थापनमा पहल गर्ने,सर्वाेच्चमा मुद्दा […]

सम्बन्धित समाचार