बडिमालिका जाँदै गरेको जुम्लाको टोलीमाथि दुर्व्यवहार

प्रबचन हमाल १३ भाद्र २०८०, बुधबार २२:४७

बाजुरा जिल्लाको तीर्थस्थल बडिमालिका जाँदै गरेको जुम्लाको टोलीमाथि बुधबार साँझ दुर्व्यवहारको घटना भएको छ । बाजुराको ठाटीकाँधमा मदिराले मात्तिएका युवाहरुले जुम्लाबाट गएका पुजारी र तीर्थालुमाथि आक्रमणको प्रयास गरेका हुन् ।

जुम्लाबाट गएको टोली बाटोमा हिड्दै गरेको भिडियो खिचिरहेको बेला मदिरा सेवन गरेका युवाहरुले आक्रमणको प्रयास गरेको टोलीका सहभागी पत्रकार कर्णबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार युवाहरुले क्यामरा खोस्ने,खिचेको भिडियो डिलिट गर्नेदेखि टोलीमाथि नै हातपात गरेका हुन् ।
जुम्लाको टोलीले सुरक्षित बडिमालिका गएर पूजाआजा गर्न पाउने परम्परागत संस्कार विथोल्ने प्रयास भइरहेको भन्दै सुरक्षाको माग गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा एकराज गिरीको सरकारी टोली नाग पञ्चमीका दिन जुम्लादेखि बडिमालिका प्रस्थान गरेको थियो । टोलीमा २९ जना सहभागी रहेको भण्डारीले बताए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले दुर्व्यवहारको घटनाको खबर प्राप्त भएको बताए । जुम्लाको टोलीको सुरक्षाका लागि बाजुरा जिल्ला प्रशासनलाई जानकारी दिइसकेको उनको भनाइ छ । उनले भने,‘टोली सुरक्षित स्थानमा गइसकेको छ ।’

जुम्लाको टोलीले भने उक्त घटनापछि यात्रामा असुरक्षा महसुस गरिरहेको छ । नागरिक समाजका संयोजक राजबहादुर महतले टोलीमाथिको दुर्व्यवहार सिंगो संस्कार माथिको अपमान भएको बताए । ‘बितेका वर्षहरुमा कुनै पनि स्थानमा टोली असुरक्षित हुनु परेको थिएन । अहिले टोली सुरक्षित रहेन,’ उनले भने, ‘सुरक्षाको जिम्मा नेपाल सरकारले लिनुपर्छ । दुर्व्यवहार गर्नेलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्छ।’

पञ्चमीका दिनमा हरेक वर्ष जुम्लाबाट दर्शनका लागि गएको टोली १७ दिनमा जुम्ला फर्किने चलन छ ।

 

Next Post

देउवाले ताेके १५ विभाग प्रमुख

१३ भाद्र २०८०, बुधबार २२:४७
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन्। उनले शुक्रबार (आज) काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनित गरेका हुन्। यसैगरी उनले केन्द्रीय सदस्य […]