कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठा जुम्लाले पीजीमा सात विषय थप्न पाठ्यक्रम तयार गर्दै छ । हाल ५० सिट एमबीबीएस कार्यक्रम सञ्चालन गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शिक्षा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको कार्यक्रम त्यस अघि नै सुरु गरेको थियो तर थोरै विषयमा यसपटक भने प्रतिष्ठानले पीजी तहमा विषय बढाउने योजना अघि सारेको छ । सोही योजना अनुसार प्रतिष्ठानले अहिले पीजी तहको ७ वटा विषयको पाठ्यक्रम तयार गर्न लागेकाे हाे ।
प्रतिष्ठानले एनाटोमी, फिजियोलोजी, माइक्रोबायोलोजी, बायो केमेस्ट्री, फरेन्सिक मेडिसिन, फर्माकोलोजी र क्लिनिकल प्याथोलोजी गरी सात विषयको पाठ्यक्रम तयार गर्न लागेकाे हाे ।
‘सात वटा विषयको पाठ्यक्रम निर्माण गर्न लागेकाे कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति फा. मंगल रावलले बताउनुभयाे । उहाँका अनुसार यो वर्ष कम्तिमा छ वटा विषय थप्ने योजना हो । पहिले नै हामीले पाँच विषयमा क्लिनिक विषयमा अध्ययन गराईसकेकाे रावलकाे भनाई छ । उपकुलपति रावलले भन्नुभयो, प्रतिष्ठानले चार वटा स्कुलबाट विभिन्न १३ वटा स्वास्थ्यका अरु कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।
यस्तै प्रतिष्ठानका डीन डा प्रेनितकुमार पोखरेलले योजना गरिएका नयाँ विषयका पाठ्यक्रमलाई अन्तिम रुप दिने अवस्थामा पुगेको भन्दै त्यसपछि चिकित्सा शिक्षा आयोगमा सिटका लागि दावी गर्ने बताउनुभयाे ।
यसैबीच प्रतिष्ठानले आफूकहाँ थप्ने योजनामा रहेको सात वटा विषयको पाठ्यक्रम निर्माण कार्यलाई अन्तिम रुप सोमबार र मंगलबार काठमाडौँमा पाठ्यक्रम सम्वन्धी कार्यशालाको आयोजना गरेको छ । टेकुस्थित राष्ट्रिय स्वास्थ्य तालीम केन्द्रको हलमा सुरु भएको कार्याशालाको उद्घाटन गर्न सोमबार स्वास्थ्य मन्त्री प्रदीप पौडेल पुग्नुभएकाे थियो । सो क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले स्वास्थ्य उपचार तथा स्वास्थ्य शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै प्रशंसा गर्नुभयाे । उहाँले भन्नुभयो, स्वास्थ्य शिक्षामा गुणस्तरीयतामा जोड दिनु पर्ने भन्दै विदेशी विद्यार्थीहरु कर्णालीमा अध्ययन गर्ने बातावरण बनाउनु पर्ने समेतमा जाेड दिनुभयो ।
‘नेपालीहरु चिकित्सा शिक्षा अध्ययनका लागि भारत तथा बंगलादेशमा ठूलो संख्यामा अध्ययनका लागि जाने गरेको भन्दै त्यहाँका विद्यार्थीलाई पनि यहाँ ल्याउने गरी काम गर्नुपर्ने मन्त्री पौडेलकाे भनाई छ ।
कार्यक्रममा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले पाठ्यक्रमको फ्रेमवर्क आयोगले बनाउने भन्दै त्यस भित्र रहेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिनुभयाे । उहाँले स्वास्थ्य शिक्षाको विषयमा गुणस्तर चाहिने भन्दै यसमा आयोगले कम्प्रमाइज गर्न नमिल्ने समेत स्पष्ट पार्नुभयाे ।
यस्तै कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिभाषामा अब दुर्गम शव्द हटाउनु पर्ने भन्दै अब सुगम र सजिलो छ भनेर विद्यार्थी तथा फ्याकल्टीहरुलाई तान्नु पर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, बाटो केही अफ्टेरो छ तर त्यहाँ पुगेपछि दुर्गमको कुनै अनुभव हुँदैन । त्यसैले दुर्गम भन्न छाड्नु पर्ने बताउनुभयो ।
यस्तै प्राडा रमेशकान्त अधिकारीले सिमित स्रोत साधनको बावजुत कर्णाली स्वास्थ्य बिज्ञा प्रतिष्ठान जुम्लाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनुभयाे । कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा रावलले प्रतिष्ठानले पछिल्ला वर्षमा गरेका प्रगति र भावि योजना बारेमा विस्तृत रुपमा बताउनु भएकाे थियाे । प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामी, निर्देशक डा पुजनकुमार रोकाय, डीन डा पोखरेल, रजिष्ट्रार नृपेन्द्र महतले प्रतिष्ठानको वस्तुस्थिति र उपलव्ध गराउँदै आएको सेवा बारेमा आफ्नो धारणा राख्नुभएको थियो । कार्यशालामा हरेक विषयसंग सम्वन्धित कम्तीमा ३ जना विज्ञहरु रहेका छन् । उनीहरुले आज मंगलबार सम्ममा पाठ्यक्रमलाई अन्तिम रुप दिने तयारीमा लागेका छन् ।