जुम्लाको चन्दननाथ नगरपालिकामा यही माघ २७, २८ र २९ गते सञ्चालन हुने एचपीभी (ह्युमन पापिलोमाभाइरस) खोप अभियान अन्तर्गत स्थानीय तह खोप समन्वय समिति, सञ्चार क्षेत्रका प्रतिनिधि र सरोकारवालाहरूको अभिमुखीकरण बैठक सम्पन्न भएको छ।
बैठकमा बोल्दै राजुसिंह कठायतले अभियानलाई सफल बनाउन समुदायस्तरबाट नै जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए।
उनेले भने, “एचपीभी खोप महिलाहरूमा पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूबाट बच्नका लागि प्रभावकारी छ। यस अभियानलाई सफल बनाउन हरेक तहबाट सक्रिय सहभागिता आवश्यक छ।”
त्यस्तै, स्वास्थ्य निरीक्षक कमरा पुनमगरले खोपको प्रभावकारिता र आवश्यकताबारे प्रस्तुतीकरण राखिन्।
उनेले भनिन्, “एचपीभी खोप वैज्ञानिक रूपमा प्रमाणित सुरक्षित खोप हो। यसले किशोरीहरूलाई भविष्यमा हुनसक्ने पाठेघरको क्यान्सरबाट बचाउन महत्वपूर्ण भूमिका खेल्छ।”
नगरपालिकाले माघ २७, २८ र २९ गते लक्षित उमेर समूहका किशोरीहरूलाई खोप प्रदान गर्ने जनाएको छ। स्वास्थ्यकर्मीहरूका अनुसार, ९ देखि १४ वर्षसम्मका बालिकाहरू प्राथमिक लक्षित समूह हुन्।