जुम्लाको इलाका प्रशासन कार्यालय नराकोट लामो समयदेखि बन्द रहेको छ। कार्यालय प्रमुख नरबहादुर बुढा लामो समयदेखि उपस्थित नभएकाले सबै प्रशासनिक सेवा ठप्प भएका हुन्।
कार्यालय बन्द भएपछि नागरिकता, राष्ट्रिय परिचयपत्र, सिफारिस, मतदाता नामावली लगायतका दैनिक काम रोकिएका छन्। सेवाका लागि आएका स्थानीयले कार्यालय नखुल्दा अत्यन्तै समस्या भएको बताएका छन्।
जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलका अनुसार प्रमुख नहुँदा केही आवश्यक काम डड्डाबाट मागाएर गराइँदै आएको छ। उनका अनुसार मन्त्रालयको निर्णयअनुसार नयाँ कार्यालय प्रमुख तोकिएको छ र उनी भोलि काठमाडौँबाट जुम्ला आउने छन्। प्रमुख आएपछि कार्यालयबाट पुनः सेवा सुरु हुने जानकारी उनले दिए।
स्थानीयका अनुसार नराकोट कार्यालयमा अधिकृत स्तरका कर्मचारी नबस्ने समस्या पटक–पटक दोहोरिँदै आएको छ। हरेक ६ महिनामा यसरी कार्यालय बन्द हुँदा सेवाग्राहीले नागरिक काम गर्न धेरै दुःख पाउने गरेको गुनासो गरेका छन्।



