जुम्ला ‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ भन्ने मूल नाराका साथ जुम्लामा आज ‘सीमान्त साहित्य सम्मेलनकाे पहिलो संस्करण हुँदैछ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री टेकराज पछाईले बिहान १० बजे गर्ने आयोजकले जनाएको छ।
सम्मेलनको उद्घाटन सत्रलगत्तै ‘जालभित्रको छटपटी’ नामक नाटक प्रस्तुत गरिने कार्यक्रम रहेको छ। त्यसपछि विभिन्न विषयमा केन्द्रित रहेर प्यानल छलफलका सत्रहरू सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
सम्मेलनमा पाँचवटा प्यानल छलफलका सत्र र एउटा कन्सर्टसहित जम्मा छवटा सत्र सञ्चालन हुनेछन्। साहित्य, विचार र समाजका विविध पक्षमा बहस तथा विमर्श गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ।
‘किनारादेखि केन्द्रसम्मको वैचारिकी’ नारासहित आयोजना हुन लागेको सम्मेलनले सीमान्तका आवाज, साहित्यिक अभिव्यक्ति र सामाजिक विषयमाथि विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।


