जुम्लामा सामान्य विवादका कारण सिंगो गाउँको लाइन काटिएको भन्ने समाचार बाहिरिएपछि नेपाल विद्युत प्राधिकरण (नेवि प्रा) जुम्लाले त्यसको खण्डन गरेको छ।
जुम्ला चन्ननाथ नगर पालीका -३ डाँडाकोटका सिंह सार्कीको घरमा प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्दा विवाद उत्पन्न भएको थियो। मिटर घर भित्र राखिएको भन्दै सार्कीले प्रश्न सोध्दा सामान्य झगडा भएको र त्यसपछि गाउँकै विद्युत लाइन काटिएको भन्ने दाबी स्थानीय स्तरमा गरिएको छ।
तर नेवि प्रा जुम्लाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सूचना जारी गर्दै यस्तो समाचार सत्य नभएको स्पष्ट पारेको छ। प्राधिकरणले अघिल्लो जुगाडखोला लघु जलविद्युत आयोजना बन्द भइसकेकाले सो क्षेत्रमा अहिले नेवि प्रा. को लाइन सञ्चालन भइरहेको उल्लेख गर्दै अझै आवश्यक कागजातसहित मिटर जडानका लागि नआएकाहरूले छिटो सम्पर्क गर्न आग्रह गरेको छ।
मिडियाकर्मीहरूले यस विषयमा बुझ्न खोज्दा प्राधिकरण प्रमुखले फोन उठाएको छैन। फोन काटेर स्विच अफ गरेपछि उनले अन्ततः फेसबुकमार्फत मात्र स्पष्टिकरण दिएका हुन्।



