सप्तरी : एउटा लाइफव्याय साबुनको मूल्य कति ?’ बिक्रेताका अनुसार दुई वटा तौलमा आउने यो साबुनको मूल्य ९५ ग्रामको ३० रुपैयाँ र १२५ ग्रामको ३५ रुपैयाँ पर्छ ।
३० रुपैयाँ र ३५ रुपैयाँ पर्ने साबुनको मूल्य ३ हजार ८ सय परेको सुन्दा पक्कै आश्चर्य लाग्छ । सप्तरीको बोदे बर्साइन नगरपालिकाले कोरोना महामारीको समयमा यो साबुन प्रतिगोटा ३ हजार ८ सय ३१ रुपैयाँ ४२ पैसामा खरिद गरेको विवरण बनाएको छ ।
नगरपालिकाले ९५ पिस साबुन खरिद गर्दाको मूल्य ३ लाख ६६ हजार ९ सय ८५ रुपैयाँ तिरेको हिसाब सार्वजनिक गरेको छ ।
नगरपालिकाले कोरोना समयमा भएको खर्च विवरण सार्वजनिक गर्दै एउटा साबुनको मूल्य ३ हजार ८ सय परेको बताएको छ । उक्त साबुन चैत २२ गते खरिद गरेको विवरणमा उल्लेख छ ।
यो नगरपालिकाले अर्काे मितिमा पनि सोही साबुन खरिद गर्दा भने प्रतिगोटा २९९ रुपैयाँ तिरेको विवरण सार्वजनिक गरेको छ । २६ चैतमा १ हजार ४ सय ४० वटा साबुन खरिद गर्दा ४ लाख ३१ हजार ९५५ रुपैयाँ तिरेको सार्वजनिक गरिएको छ ।
नगरपालिकाले ३१ चैतमै ६ हजार ९ सय १२ पिस साबुन किन्दा भने २ लाख ३ हजार ८ सय ६ रुपैयाँ तिरेको छ । त्यतिबेला भने यो साबुनको मूल्य २९ रुपैयाँ ३८ पैसा परेको देखिन्छ ।
प्रिन्ट मिस्टेक भएको दाबी
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले नगरपालिकाले सार्वजनिक गरेको कोरोना सम्बन्धी खर्च विवरणमा प्रिन्ट मिस्टेक भएको बताए । उनले २२ चैतमा खरिद गरिएको साबुन प्रति पिस नभई प्रति कार्टुन भएको बताए ।
उनले कार्टुन भएको बताएपनि हिसाब मिलेको देखिदैन । बिक्रेताका अनुसार ९५ ग्राम तौल भएको साबुनको प्रति कार्टुन मूल्य ४ हजार रुपैयाँ पर्छ । यदि नगरपालिकाले ९५ कार्टुन नै खरिद गरेको हो भने ३ लाख ८० हजार रुपैयाँ पर्छ ।
१२५ ग्रामकै साबुन भए ९५ कार्टुनको मूल्य प्रति कार्टुन ४ हजार ५० का दरले ३ लाख ८४ हजार ७ सय ५० रुपैयाँ पर्छ । तर नगरपालिकाले ३ लाख ६६ हजार ९ सय ८५ रुपैयाँ मात्रै तिरेको बताएको छ ।