अस्ट्रेलिया : कोरोना भाइरसको संक्रमण देखिएसँगै दक्षिण अस्ट्रेलिया राज्य सरकारले बुधबार रातिदेखि लागू हुने गरी ६ दिनका लागि लकडाउन गर्ने भएको छ । राज्यका प्रिमियर स्टिभन मार्सलले अहिले देखिएको भाइरसको संक्रमणको चेन रोक्नका लागि लकडाउन आवश्यक भएको बताएका छन् ।
घरबाहिर निस्कनु परेमा मास्क लगाउन अनिवार्य गरिएको छ । सरकारको यस निर्णयसँगै राज्यका सबै शैक्षिक संस्था बन्द हुने भएका छनु भने सर्वसाधारणलाई घर बाहिर निस्कन बन्देज लगाइएको छ ।
दक्षिण अस्ट्रेलियाको पराफिल्ड भन्ने स्थानबाट समुदायमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले थप फैलन नदिनका लागि पूर्णरुपमा लकडाउन गर्न निर्णय गरिएको समाचारमा जनाइएको छ । दुई दिनको अवधिमा अहिलेसम्म जम्मा २२ जनामा संक्रमण देखिएको हो । संक्रमण रोक्नका लागि भाइरस फैलिएको स्थानमा रहेका विद्यालय, नर्सिङहोम, फास्टफुडलाई दुई दिनअघि नै बन्द गरिएको थियो ।