चौरजहारी नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएको छ । वडा नं. २ मा स्थापना भएको इलाका प्रशासन कार्यालयको सोमबार यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले उद्घाटन गरे ।
गाउँमै इलाका प्रशासन कार्यालय स्थापना भएपछि अब यहाँ आसपासका नागरिकलाई नागरिकता, राहदानी लगायत प्रशासनिक सेवा लिन जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने झन्झट टरेको छ ।सांसद शर्माले कार्यालय स्थापना भएपछि अब प्रशासनिक सेवाका लागि सदरमुकाम जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।संघीयताको मर्म अनुसार नै इलाका प्रशासन कार्यालय स्थापना गरिएको उनको भनाइ थियो ।
कार्यालय उद्घाटन भएपनि व्यवस्थापनका केही कामहरु बाँकी रहेकाले सेवा प्रवाह गर्न भने अझै केही दिन लाग्ने कार्यालयका प्रमुख तोषराज केसीले बताए । कार्यालयमा फर्निचर, कम्प्युटर, सिआई.एम.एस. जडान, कर्मचारी व्यवस्थापन लगायत अन्य व्यवस्थापनको काम गर्न बाँकी छ ।
प्रमुख जिल्ला अधिकारीको अख्तियारीका आधारमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा इलाका प्रशासन कार्यालयबाट प्रवाह गरिने कार्यालय प्रमुख केसीले जानकारी दिए ।