मुगुकाे रारा छायाँनाथ नगरपालिकाका मेयर विष्णु कुमार भाम कर्णालीका पालिका प्रमुखहरुमा कम उमेरका हुनाले चर्चित छन्। सामाजिक, सांस्कृतिक पक्षलाई मध्यनजर गरि देउताकाे घण्टा साक्षी राखी भ्रष्टाचार नगर्ने कसम खाएका उनले सुरुमै लाेकप्रियता हासिल गरेका थिए।
चर्चाका लागि मात्रै काम नगर्ने भाम बाेलीलाई व्यवहारमा उतार्नु पनि उत्तिकै तत्पर देखिन्छन्। जातीय विभेद जस्ताे समाजलाई कुरुप बनाउने प्रथा अन्त्यका लागि उनले अन्तरजातीय विवाहलाई प्राेत्साहन गरेका छन्।
त्यसका लागि उनले नवविवाहित जाेडीलाई एक लाख प्राेत्साहन स्वरुप उपलब्ध गराउने घाेषणा गरेका छन्।
नगरपालिकाको १२ औं नगर सभाले जातीय विभेदविरुद्ध दलित नीति तथा नियमावली–२०७९ पारित गरेकाे छ। नीतिमा २० वर्ष उमेर पुगेका युवायुवतीले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरूप एक लाख नगद उपलब्ध गराउनले मेयर विष्णु कुमार भामले बताए।
उनले ‘गरिबसँग नगर प्रमुख’ कार्यक्रमका लागि चालू आर्थिक वर्षमा विनियोजन गरिएकाे ५० लाख रकममध्ये १० लाख अन्तरजातीय विवाहका लागि छुट्याइएको बताएका छन्।
‘जातीय विभेदले समाजलाई एकजुट हुन दिएकाे छैन। जबसम्म समाज एक हुन्न तबसम्म कुनैपनि विकास हुन्न,’ उनले भने, ‘समाजलाई गतिशील र प्रगतिशील बनाउन सामाजिक कुरीतिलाई हटाउन सक्नै पर्छ। त्यसैले हामीले प्राेत्साहनकाे कार्यक्रम ल्याएका छाैं।’
उनका अनुसार ‘गरिबसँग नगर प्रमुख’ कार्यक्रमलाई दलित मैत्री बनाउने प्रयत्न भइरहेको छ।
जातका आधारमा हुने विभेद संविधानले दण्डित मानेको छ। भविष्यमा हुन सक्ने जातीय विभेदमा जघन्य अपराधका घटना हुन नदिन प्रोत्साहनको कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
जातीय विभेद अन्त्य गर्न नगरले अघि सारेको यो कार्यक्रमलाई कर्णालीकै नमुना तथा उदाहरणीय कार्यक्रमका रुपमा हेरिएको मुगुका चर्चित रंगकर्मी हिरा बिजुली नेपालीले बताए।
‘हाम्राे नगरपालिकाका मेयर विष्णु कुमार भामले सिमान्तकृत दलितहरुका पक्षमा ‘जातिय विभेद विरुद्ध दलित नीति २०७८’ पारित गराएर इतिहास रच्नुभएकाे छ,’ उनले भने, ‘इतिहास रच्न अवश्य पनि साहस र हिम्मत चाहिन्छ। कर्णालीमा यो साहस छ त केवल विष्णु कुमार भामसँग।’
जातीय विभेद अन्त्यकाे गर्न समाजले अन्तरजातीय विवाहलाई ससम्मान स्वीकार गर्नुपर्ने रंगकर्मी बिजुलीको तर्क छ। उनले भने, ‘जबसम्म एक दलित र गैर दलितले नातामा सम्धी, सम्धिनी भनेर ससम्मान एक अर्काेकाे घरमा आउजाउ गर्न सक्दैनन् तबसम्म जातीय विभेद अन्त्य हुँदैन। रारा छायाँनाथ नगरपालिकाले चालेकाे कदम उत्कृष्ट छ र याे सम्मान गर्न लायक छ।’
मेयर भामले जातीय विभेद अन्त्यका लागि चालेकाे कदमकाे सचेत वर्गले खुलेर प्रशंसा गरिरहेकाे छ। यसैबीच चर्चित चलचित्र द ग्रेटर नेपाल, दास ढुंगा र बदशालाका निर्देशक मनोज पण्डितले मेयर भामको काम उच्च साहसिक र सह्रानीय भन्दै प्रशंसा गरेका छन्।