नेकपा सचिवालयको बैठक बस्दै, वामदेवको पक्षमा सचिवालयमा बहुमत

स्थायी कमिटी बैठक बोलाउने सम्भावना

हिमशिखर १८ भाद्र २०७७, बिहीबार ०७:५३

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभाको रिक्त पदमा सिफारिस र कार्यदलको प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची छ । आज बस्ने सचिवालय बैठकले पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई स्वामित्व ग्रहण गर्ने र स्थायी कमिटीमा पेस गर्न प्रस्तावको रूप दिने बुझिएको छ ।

कार्यदलको प्रतिवेदनमाथि छलफल गर्न भदौ १३ गते नै सचिवालय बैठक बोलाइएको थियो । रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक भदौ १८ गतेलाई सारिएको थियो । सचिवालयले स्थायी कमिटी बैठक बोलाउने सम्भावना रहेको पनि स्रोतले जानकारी दियो । असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक साउन १८ गतेदेखि अवरुद्ध छ ।

पूर्वमाओवादी केन्द्रका नेताहरूले पनि स्थायी कमिटी बैठकलाई लामो समयसम्म अवरुद्ध राख्न नहुनेमा जोड दिएका छन् । यस विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराइएको उनीहरूको भनाइ छ । “हामीले यथाशीघ्र स्थायी कमिटी बोलाएर छलफल गर्नुपर्छ भनेका छौं । स्थायी कमिटी बैठक लामो समयसम्म रोकेर राख्न मिल्दैन,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भने ।

राष्ट्रियसभामा वामदेव गौतम कि युवराज खतिवडा ?

राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने कि युवराज खतिवडालाई नै दोहोर्‍याउने भन्ने विषयमा नेकपाभित्र किचलो उत्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवराजलाई दोहोर्‍याउनुपर्ने अडान राख्दै आएका छन् ।

बुधबार दुई अध्यक्ष छलफल हुँदा पनि प्रधानमन्त्री ओलीले युवराजलाई नै दोहोर्‍याउनुपर्ने एकसूत्रीय अडान राखेको प्रचण्डनिकट स्रोत बताउँछ । अध्यक्ष प्रचण्डले अरू सचिवालय सदस्यसँग राय बुझेर, छलफल गरेरमात्रै निष्कर्षमा पुग्नुपर्ने बताएपछि दुई अध्यक्षको भेटमा विषय टुङ्गिन सकेको थिएन ।

स्रोतका अनुसार बहुमत सचिवालय सदस्य वामदेवलाई नै सिफारिस गर्नुपर्ने पक्षमा छन् । ९ सदस्यीय सचिवालयमा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र विष्णु पौडेलसमेत वामदेवको पक्षमा उभिएपछि ओली थप दबाबमा परेका छन् । प्रचण्डको प्रस्तावमा बादलले पनि साथ दिने हो भने ओलीको प्रस्तावमा ईश्वर पोखरेलमात्रै पक्षमा हुनेछन् ।

तथापि, युवराजलाई नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस नै पठाइसकियो भन्दै ओलीले प्रचण्डसहित अरू नेताहरूलाई पनि दबाब दिइरहेका छन् । प्रधानमन्त्री ओलीले बुधबार प्रचण्डसँग छलफल गरेलगत्तै उपाध्यक्ष गौतमलाई बालुवाटार बोलाएका थिए । राति एकघण्टा छलफल हुँदा पनि निष्कर्ष निस्कन नसकेको र वामदेवले अडान नछाडेको उनी निकट स्रोतको दाबी छ ।

वामदेवले अध्यक्ष प्रचण्डलाई पनि भेटेर अडान नछाड्ने र फागुन १४ गतेको निर्णय कार्यान्वयन हुनुपर्ने बताइसकेका छन् । गत फागुन १४ गतेको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्ने अनिच्छा विषय अलपत्र परेको थियो । वैशाख २० गतेको सचिवालय बैठकले पुनः वामदेवलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेदवार बनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले ठाउँ पनि खोजिदिएका थिए । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर उपचुनाव लडाउने ओलीको तयारी थियो । डोल्पामा उपचुनाव लड्न इन्कार गरेको वामदेवले नै बताएका छन् । राष्ट्रियसभामा जाने सहज बाटो हुँदाहुँदै उपचुनाव चुनाव लड्न नचाहेको उनको भनाइ छ । कोरोना महाव्याधि, केही समयपछि नै शीतयाम सुरु हुने भएकाले डोल्पाजस्तो जटिल भूभागमा उप–चुनाव सम्भव नभएको र त्यहाँमात्र नभएर कुनै पनि क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचन नलड्ने वामदेवले अठोट पनि व्यक्त गरेका छन् ।

Next Post

भारतमा २४ घण्टामा ७८ हजार ३५७ संक्रमित थपिए

१८ भाद्र २०७७, बिहीबार ०७:५३
काठमाडौं । भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७८ हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ६९ हजार ९२१ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६ हजार ३३३ पुगेको छ । […]