स्वर्गीय दिपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार सागर परियारलाई

हिमशिखर संवाददाता १६ आश्विन २०७९, आईतवार १२:४५

‘स्वर्गीय दिपबहादुर स्मृति क्रीयाशील पत्रकारिता पुरस्कार’ जुम्लाका पत्रकार सागर परियारले पाएका छन्। जुम्लाबाट पहिलो पल्ट सुरुवात गरिएकाे पुरस्कार सक्रिय पत्रकारिता गरिरहेका परियारले पाएका हुन।

जुम्लामा पत्रकारिता सुरुवात गरेर बाँकेलाई कर्मथलाे बनाइरहेका पत्रकार शुभाकर विश्वकर्माले उक्त पुरस्कारकाे स्थापना गरेका हुन। उनले २०७२ साल असाेज १६ गते वितेका आफ्ना बुबाकाे स्मृतिमा उक्त पुस्कारका स्थापना गरेका बताएका छन्।

२०७२ सालबाट रेडियोबाट पत्रकारिता सुरुवात गरेका पत्रकार परियार त्यसकाे तीन वर्षपछि लगातार लेखन क्षेत्रमा क्रियाशील छन्। रेडियाे पत्रकारिता र लेखनमा उत्कृष्ट रिपोर्टिङ गर्दै आएका उनकाे कामलाई मुल्यांकन गरि पुरस्कार दिने निर्णयमा पुगेकाे छनाेट समितिका सदस्य उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।

‘छनाेटका विभिन्न आधारहरु थिए। नाम नै क्रियाशील पत्रकारिता पुरस्कार राखिएकाे हुनाले हामीले क्रियाशीलहरुमध्येबाट उहाँलाई छान्याैं,’ उनले भने, ‘इतिहासमा पहिलाे पटक जुम्लाबाट पुरस्कार दिने काेसिस गरिएकाे छ। जसकाे स्थापनाले आगामी दिनमा पत्रकारहरुकाे क्रियाशीलतामा थप उर्जा दिनेछ।’

व्यवसायीक पत्रकारिताकाे जग बलियाे बनाउन महत्त्वपूर्ण याेगदान गरेका पत्रकार परियार जुम्लाकाे दाेस्राे दैनिक पत्रिका कर्णालीपोष्ट दैनिकको कार्यकारी सम्पादक समेत छन्। उनी विगत छ वर्षदेखि कारोबार राष्ट्रि आर्थिक दैनिकमा निरन्तर काम गर्दै आएका छन्।

स्थानीय एफ एम रेडियाे कर्णालीबाट सिकेकाे सीपलाई निरन्तरता दिन विगत तीन वर्ष यता रेडियो नेपालमा काम गरिरहेका छन्।

स्थानीय देखि राष्ट्रियस्तरका संचार माध्यममार्फत विकटका समाचार प्रकाशन तथा प्रसारण गर्ने उनी पत्रकार हक हितका लागि अनवरत रुपमा संघर्ष गर्दै आएकाे नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सहसचिव समेत छन्।

सत्य र निस्पक्षतालाई आत्मसाथ गरी सामाजिक सशक्तिकरणका लागि व्यवसायीक पत्रकारिता अंगालेका उनले स्वार्गीय दिपबहादुर स्मृति पुरस्कार पाउने खबरले उत्साहित भएकाे बताएका छन्।

‘याे मेराे लागि निकै खुसीको कुरा हाे। पत्रकारिता क्षेत्रमा मैले देखेकाे भविष्यलाई अझ दृढ हुन मद्दत मिल्नेछ,’ उनले भने, ‘म मेरो कर्ममा तल्लीन भइराख्दा बेलाबखत आउने खुसीहरुले मलाई थप उत्प्ररेण र हौसला प्रदान गर्नुका साथै जिम्मेवारी बढेको महसुश हुन्छ।’

‘स्व.दिप बहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार’को पहिलो संस्करणबाट पुरुस्कृत भएर इतिहास रच्ने अवसर आफूले पाउने हुँदा उत्साह बढेकाे उनकाे प्रतिक्रिया छ।

‘जुम्लामा हालसम्म पत्रकार महासंघ लगायत कुनै पनि निकायबाट पत्रकारहरुको प्रोत्साहनका लागि पुरस्कारको स्थापना गरिएकाे छैन। न त कोष नै खडा भएको छ,’ उनले भने, ‘यस्ताे अवस्थामा पत्रकार शुभाकर विश्वकर्माले आफ्नो बुबाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरी नयाँ पृथक र ऐतिहासिक कदम चाल्नुले हाम्राे कलम अझ निखारिनेछ।’

देशकाे राजनीति, समाज र पत्रकारिताले लय लिन नसकेकाे अवस्थामा पत्रकारलाई उर्जा दिने काम गर्नु सकारात्मक पक्ष भएकाे विश्लेषक रामसिंह रावलले बताए।

‘इमानदारीपूर्वक कलम चलाउदा समाज सहि दिशामा जान्छ,’ उनले भने, ‘यसरी व्यक्तिगत तवरबाट पुरस्कारकाे स्थापना गर्नु निकै सकारात्मक पक्ष हाे। यसकाे निरन्तरताले उर्जा थप्नेमा विश्वस्त छु।’

सम्मान पाउने तर जाेखिम बढी भएकाे पेसाका अनेकौं कठिनाई रहेकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्यले बताए।

‘याे पुरस्कारकाे स्थापनाले धेरै जस्ताे पत्रकारलाई उर्जा दिनेछ,’ उनले भने, ‘सागर परियार उज्ज्वल भविष्यमा भएका पत्रकार हुनुहुन्छ। उहाँ सहि मुल्यांकन भएकाे छ।’

पुरस्कार जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्यकाे हातबाट वितरण गरिएकाे थियाे। दस हजार राशीकाे पुरस्कार हरेक वर्ष एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ।

Next Post

बिमा लेख हराएकाे सूचना

१६ आश्विन २०७९, आईतवार १२:४५
एलआईसी नेपाल लिमिटेडबाट जारी भएकाे तपशीलकाे बिमालेख हराएकाे हुँदा पाउनु हुने महानुभावहरुले तपशीलकाे ठेगाना वा जिल्ला प्रहरी कार्यालयमा बुझाइदिन हुन अनुराेध छ। तपशील बिमित : महेश कुमार नेपाली बिमालेख नम्बर: २५१५०१२७९ बिमित : हरि थापा बिमालेख नम्बर: २५१५०३८३१ सम्पर्क व्यक्ति नर बहादुर घर्ती एजेन्सी म्यानेजर, एलआइसी नेपाल, जुम्ला शाखा माेबाइल […]

सम्बन्धित समाचार