कांग्रेस र समाजवादीसमक्ष प्रचण्डको ३ प्रस्ताव

हिमशिखर संवाददाता ६ पुष २०७७, सोमबार २३:०५

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र जनता–समाजवादी पार्टीसमक्ष तीनै पार्टीले संयुक्त रुपमा आन्दोलनमा जान प्रस्ताव गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सोमबार भएको बैठकमा प्रचण्डले चुनाव बहिस्कार गरेर आन्दोलनमा जान प्रस्ताव गरेका हुन् ।

बैठकका एक सहभागीले दिएको जानकारीअनुसार, प्रचण्डले त्यहाँ तीनवटा प्रस्ताव गरेका थिए ।

‘पहिलो, तीनै दलले संयुक्त रुपमा संसद् विघटनको भत्सना गर्ने । दोस्रो, तीनै दलका सांसद्ले संयुक्त रुपमा हस्ताक्षरसहितको निवेदन लिएर सर्वोच्च अदालतमा जाने’, बैठकमा सहभागी ती नेताले भने, ‘तेस्रो, सबैभन्दा गम्भीर थियो । त्यो के भने तीनै दलले चुनावमा भाग नलिने घोषणा गरी संसद् पुनर्बहालीको माग राखेर सडक आन्दोलनमा जाने ।’

प्रचण्डको प्रस्तावलाई तत्कालै कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अस्वीकार गरेका थिए । ‘हामीले संसद् विघटन असंवैधानिक भनिसक्यौँ तर त्यसबाहेक अरु विषय आ–आफ्नो दलमा छलफल गर्ने विषय हो’, बैठकमा देउवाले भनेका थिए ।

वरिष्ठ नेता पौडेलले संसद् विघटन असंवैधानिक भए पनि चुनावलाई अस्वीकार गर्ने कुरो कांग्रेसको सिद्धान्तविपरीत हुने बताएका थिए । ‘चुनावलाई अस्वीकार कांग्रेसले गर्न मिल्दैन, यो लोकतन्त्रविपरीत कुरा हुन्छ’, उनले भनेका थिए ।

तीन दलको बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि लगायत नेताहरु थिए ।

नेकपाबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पम्फा भुसाल सहभागी थिए ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, शरतसिंह भण्डारी, जितेन्द्रप्रसाद सोनारलगायतका नेताहरु सहभागी थिए।

Next Post

नेकपा, नेपाली कंग्रेस र जनता समाजबादी पाटीकाे केन्द्रीय समिति बैठक बस्दै

६ पुष २०७७, सोमबार २३:०५
नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी केन्द्रीय समिति पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ। सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन्। ओली पक्षका केन्द्रीय सदस्यलाई बिहान ९ बजे बालुवाटार बोलाइएको छ। प्रचण्ड र […]