शुक्रबार कर्णालीमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयकाे स्वास्थ्य सेवा निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा आठ कोरोना संक्रमितको मृत्यु भएको हाे।
मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका ५ सुर्खेतका ६३ वर्षीय, वीरेन्द्रनगर नगरपालिका १ सुर्खेतका ४५ वर्षीय, वीरेन्द्रनगर वडा नं.८ का ६३ वर्षीय, वडा नं. ११ का ५३ वर्षिय र वडा नं. १२ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने सिद्धकुमाख गाउँपालिका २ सल्यानका ४२ वर्षीय, मुसिकोट नगरपालिका ४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका ६ दैलेखका २७ वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिए।
मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पीसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको छ। निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक, एक जनाको मृत्यु भएको हाे। कर्णालीमा एकैदिन ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो।
शुक्रबार ८ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
पछिल्लो २४ घण्टामा कर्णालीमा आरटी पीसीआर परीक्षण गर्दा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी जम्मा २५३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कर्णालीमा आरटी पीसीआर परीक्षणबाट कोरोना संक्रमित हुनेको संख्या ८ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ।