कोहलपुरमा पेट्रोल छर्किएर आगो लगाइदिंदा छोराको मृत्यु, आमा घाइते

महेश चाैलागाँई १६ माघ २०७९, सोमबार १०:०४

कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ। श्रीमती घाइते छिन्।

स्थानीय ३० वर्षीय भानुभक्त विश्वकर्माले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए।जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए। उनले भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि बताए।

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे। आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो। त्यसपछि गंगा आमाजूको घरमा गएर बसेकी थिइन्।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए। ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो।’

बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो। श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ। प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ।

घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो।

Next Post