जुम्लामा स्ववियु निर्वाचन सात सदस्यीय समिति गठन

महेश शाही १३ फाल्गुन २०८१, मंगलवार १८:१६

साविकको कर्णालीमा एकमात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुख उपप्राध्यापक पदम बहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन समिति गठन गरिएको छ।

मंगलबार बसेको क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको बैठकले शाहीलाई संयोजक र उपप्राध्यापक डम्वर बहादुर महतलाई सदस्य सचिव तोकेको हो।

समितिमा हिक्मत बुड्थापा, हरिकृष्ण थापा, नर बहादुर सेजुवाल, जगत बहादुर खत्री र नरेन्द्र बहादुर महत सदस्यका रूपमा रहेका छन्।

आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरका आंगिक क्याम्पसहरूमा हुने स्ववियु निर्वाचनको तयारीस्वरूप यो समिति गठन गरिएको हो।

संयोजक शाहीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन समितिले पूर्ण प्रतिबद्धताका साथ काम गर्ने बताए।

“हामीले विद्यार्थीहरूको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न र निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउन कुनै कसर बाँकी राख्ने छैनौँ,” उनले भने, “सबै पक्षको सहयोग र सहभागिताले निर्वाचन सफल हुनेमा म विश्वस्त छु।”

त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म हुनेछ।

यस्तै, संघ–संगठन दर्ता फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोध फागुन २८ गते र अन्तिम उम्मेदवारको नामावली फागुन २९ गते प्रकाशन गरिनेछ। मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले निर्वाचन कार्यतालिका अनुसार सबै क्याम्पसमा तयारी तीव्र बनाइएको जानकारी दिए।

त्रिविले यसअघि नै ‘स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका’ र आचारसंहिता जारी गरिसकेको छ। निर्वाचनमा २८ वर्षे उमेरहद कायम गरिएको छ भने मिश्रित निर्वाचन प्रणाली अपनाइएको छ।

देशभरका त्रिविका ६२ आंगिक र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा एकैदिन हुने यो निर्वाचनले विद्यार्थी नेतृत्व चयनमा महत्त्वपूर्ण प्रभाव पार्नेछ।

Next Post

तिला गाउँपालिका ५ मा मदिरा बिक्री वितरण र सेवन गर्ने लाई कारवाही गरिने

१३ फाल्गुन २०८१, मंगलवार १८:१६
जुम्ला । जुम्लाको तिला गाउँपालिका -५ ले वडामा मदिरा बिक्री वितरण र सेवन गर्ने लाई कार्वाही गर्ने निर्णय गरेकाे छ । वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको उपस्थितिमा साे निर्णय गरिएको हाे । वडामा मदिरा बिक्री वितरण र सेवन व्यापक भएको भन्ने गुनासो आए पछि यस्ताे निर्णय गर्न बाध्य […]