काठमाडौँ, माघ ४ — भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव प्रसाद चौलागाईँले सडक तथा पूर्वाधार विकास नै समग्र विकासको बहुआयामिक आधार भएको बताएका छन्।
आइतबार डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालद्वारा आयोजित ‘नेपालमा भूकम्प तथा विपद्का चुनौती’ विषयक कार्यक्रममा बोल्दै मन्त्री चौलागाईँले सडक र पूर्वाधारले शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिलगायत अन्य विकास सूचकहरूमा समेत प्रत्यक्ष योगदान गर्ने उल्लेख गरे।
उनले भने, “यदि विकास र पहुँचको दृष्टिकोणबाट इतिहास लेखिने हो भने सडक पुग्नुअघिको अवस्था र पुगेपछिको अवस्था हरेक ठाउँमा फरक देखिन्छ। सडक पुगेपछि अस्पताल, शिक्षा र आर्थिक क्रियाकलापमा नागरिकहरूको पहुँच सहज हुन्छ।”
मन्त्री चौलागाईँले पूर्वाधार निर्माणमा पर्याप्त ध्यान दिन सके विपद् न्यूनीकरण गर्न सकिने पनि बताए। हालसम्मको अनुभवका आधारमा राज्यले विपद् भइसकेपछि मात्र प्रतिक्रिया जनाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले अध्ययन र प्रभाव विश्लेषणविनै कडा नियमहरू बनाउने गरिएको बताए।
उनका अनुसार यस्ता कडा मापदण्डका कारण सर्वसाधारण नागरिकले अनावश्यक दुःख पाउनुपरेको र यसले नागरिकमा निराशा बढाएको छ।



