तातोपानी गाउँपालिकामा बालबालिकामाथि केन्द्रित विशेष कार्यक्रम सम्पन्न भएको छ। किर्डाक नेपालद्वारा सञ्चालित ‘सहयात्रा तेस्रो परियोजना’ अन्तर्गत आयोजित उक्त कार्यक्रममा हालसम्म बाल क्षेत्रमा भएका कामको समिक्षा गर्दै आगामी योजना र अनुभवहरू आदानप्रदान गरिएको हो।
परियोजनाका संयोजक प्रकाश शाहीले शिक्षा, पुनःस्थापना, चुनौती र सिकाइका अनुभव सहभागीहरूसँग साझा गरे। उनले परियोजनाले पञ्चेश्वर सभाहलमा गरेको भित्ते प्रदर्शनीले पनि उपस्थित सबैको ध्यान तानेको बताए।
जिल्लामै पहिलो पटक तातोपानी गाउँपालिकाले तीन टाढा गाउँ — नियापानी, श्रीनगर र भेरीखोलाको बारागाउँमा — घरमै शिक्षक राखेर पढाइ सुरु गरेको जानकारी दिइयो। “एक विद्यार्थीका लागि एक शिक्षक” को अभ्यास अभिनव पहलका रूपमा चर्चा भयो।
कार्यक्रममा जोखिममा परेका बालबालिकाको पुनःस्थापना, विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने प्रयास, क्षमता विकास र बालमैत्री कार्यक्रमको महत्वबारे पनि छलफल गरियो।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले परियोजनाको प्रभाव उल्लेखनीय भएको भन्दै अझ प्रभावकारी समन्वयको आवश्यकता रहेको बताए। त्यस्तै, नागरिक समाज संजालका अध्यक्ष प्रेम अधिकारीले पालिकाको नीति निर्माण र सेवा प्रवाहमा बालमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा २२ जना सरोकारवालाको सक्रिय सहभागिता रहेको थियो।



