प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (सोमबार) सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने बताएका छन्।
आइतबार प्रदेशको चौथो मुख्यमन्त्री नियुत्त भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सबै दलहरुबाट प्रतिनिधित्व हुने गरी सनो मन्त्रीमण्डल विस्तार गर्ने बताए।
अन्य बाँडफाँडका विषयमा भने विश्वासको मत लिएपछि मात्रै अघि बढ्ने कार्कीले बताए। ‘भोलि हामीसँग रहेका सबै दलहरुसँग छलफ गरेर सबै दलहरुबाट प्रतिनिधित्व हुने गरी सरकार निर्माण गर्छौ’, उनले भने, ‘विश्वासको मत प्राप्त गरेपछि मात्रै अन्य बाँडफाँडको काम अघि बढ्छ।’
यस्तै उनले प्रदेशको नामकरणलाई उच्च प्राथमिकतामा राखेर सबैका साझा सहमतिमा टुंगो लागउने बताए।
सत्ता सझेदार दलहरुबीचमा हाल कायम रहेका मन्त्रालय घटाउनेबारे प्रयास भइरहेको मुख्यमन्त्री कार्कीको भनाई छ। उनले भने, ‘मन्त्रालय घटाउने प्रयास भइरहेको छ। अहिलेको भन्दा बढाउँदैनौ घटाउँछौ।’
मुख्यमन्त्री निकट स्रोतका अनुसार भोलि एमालेबाट २, माओवादीबाट १ र राप्रपाबाट १ जना मन्त्री बन्ने सम्भावना छ।
एमालेबाट तिलकुमार मेन्याङ्बो र बुद्धिकुमार राजभण्डारी, माओवादीबाट दुर्गा प्रसाद चापागाईं र राप्रपाबाट भक्तिप्रसाद सिटौला सरकारमा जाने स्रोतको दाबी छ।