जुम्ला बहुमुखी क्याम्पस साबिककाे कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एकमात्र आंगिक क्याम्पस हाे। विगत १४ वर्षदेखि निर्वाचन हुन नसकेको क्याम्पसमा यतिबेला निर्वाचन हुँदैछ।
तीन ठूला राजनीतिक पार्टीले यसलाई आफ्नाे प्रतिष्ठासँग जाेडेका हुनाले आफ्नाे सम्पूर्ण संयन्त्र नै परिचालन गरेर लागेका छन्। यसले आम निर्वाचनकाे झल्काे दिइरहेको छ।
देशका तीन ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी सहित राप्रपाकाे राप्रविसंघ, विप्लवकाे अखिल क्रान्तिकारी विप्लव, नेमकिपाकाे नेक्राविसंघ चुनावी मैदानमा छन्।
जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायकाे स्नातक तहमा अध्यापन भइरहेको छ।
कुल सात सय ८२ मतदाता रहेकाेमा पाँच सय २८ जनाले मात्रै परिचय पत्र लिएकाे हुनाले कुल पाँच सय २७ मात मात्रै खस्न सक्न अनुमान रहेकाे निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।
उनका अनुसार निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिएको छ। भने क्याम्पसकाे सम्पूर्ण संयन्त्र परिचालन गरिएकाे छ।
मतदान बिहान ठिक आठ बजेबाट सुरु भएर साँझ पाँच बजे सम्म चल्नेछ।