यार्सा संकलन गर्न गएकी पातारासी गाउँपालिका वडा नं. १ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ । यार्सा संकलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर मृत्यु भएको हो । घरखर्चको जोहो गर्न यार्सा संकलन गर्न विष्णुमाया डोल्पाको पाटनमा पुगेकी थिईन् ।
वैशाख २७ गतेका दिन डोल्पाको प्यारी गुफा लेक नजिक अचानक माथिबाट खसेको ढुंगा टाउकोमा लागेपछि विष्णुमायाको मृत्यु भएको पातारासीका स्थानीय श्रीराम थापाले जानकारी दिए । विष्णुमायाको मृत्युसंगै दुई छोरा छोरी आमा विहिन बनेका छन् । मृतक ऐडिका अन्दाजि ८ वर्षका छोरा र १० वर्षकी छोरी बिचलिमा परेको वडाध्यक्ष लालसिंह ऐडिले बताए । वडाध्यक्ष ऐडिका अनुसार शव जुम्ला ल्याउन सम्भव नभएकोले पाठनमै गाडेर अन्तिम संस्कार गरिएको छ ।
यसैबीच यार्सा संकलन गर्न गएका जुम्ला पातारासीकै चार जना यूवा डोल्पाका विभिन्न पाटनमा अलपत्र परेका छन् । पातारासी गाउँपालिका ३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासुक क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । उनका अनुसार अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् ।
चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । अलपत्र परेका चारै जना यूवाको उद्दारका लागि सबै निकायसंग अपिल गरिएको अध्यक्ष बोहोराले उल्लेख गरे । जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने सांसददेखि गृहमन्त्रालयमा समेत उद्दारमा सहयोग गर्न माग गरिएको छ