गौरीकुण्ड पहिरामा बेपत्ता नेपालीको खोजी कार्य जारी

महेश चाैलागाँई २० श्रावण २०८०, शनिबार ०६:०७

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले यही साउन १८ गते राति भारतको उत्तराखण्ड राज्य, रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड, केदारनाथ धामको पैदल यात्रा शुरु हुने स्थान नजिकै गएको पहिरामा परी बेपत्ता नेपाली नागरिकको खोजी कार्य जारी रहेको जनाएको छ।

सो ठाउँमा होटल व्यवसाय गरेर बसेका जुम्ला स्थायी बसोवास भएका एकै परिवारका सात जना, सोही स्थान नजिकै रोजगारीको सिलिसिलामा रहेका जुम्लाकै अन्य चार जना र कालीकोटका पाँच जनासहित १६ जना नेपाली नागरिक बेपत्ता भएको सोही स्थान नजिकै रहेका नेपाली नागरिकले अनुमान गरेका छन्।

त्यहाँको सञ्चार माध्यम र स्थानीय सरकारका पदाधिकारीका अनुसार बेपत्ता भएकाको खोजी कार्य जारी रहेको जनाइएता पनि नदीको सतह बढेको र प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको दूतावासले जनाएको छ। हिजाे बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका तीन वटा शवमध्ये दुई नेपाली नागरिक र एक जना भारतीय नागरिक रहेको बुझिन आएको दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

दुई जना नेपाली नागरिकमध्ये एक जना कालिकोट निवासी टेकबहादुर कामीको सनाखत भएको र अर्काे शवको अनुहारमा चोट लागेको कारण हालसम्म सनाखत हुन सकेको छैन। बेपत्ता नेपाली नागरिकको खोजी, विपद्मा फसेकाको उद्धार र राहत तथा मृतकको शव कानूनी प्रक्रिया पूरा गरी यथाशक्य छिटो परिवारलाई हस्तान्तरण गर्न त्यहाँको विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारी समक्ष अनुरोध गरिएको छ। रुद्रप्रयागका जिल्लाधिकारी त्यहाँस्थित आपदा कन्ट्रोल रुम र उत्तराखण्डस्थित विपद् व्यवस्थापन सचिवालयसँग नेपाली राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ।

 

Next Post

भारतको श्रावस्तीमा कार दुर्घटनाः नेपालगन्जका ६ जनाको मृत्यु

२० श्रावण २०८०, शनिबार ०६:०७
भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिएका छन्। दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया […]