चौथो जुम्ला रारा अल्ट्रा म्याराथन सुरू

महेश चाैलागाँई ११ बैशाख २०८०, सोमबार ०९:१०

कर्णालीको पर्यटन प्रवर्द्धनका लागि चौथो जुम्ला रारा अल्ट्रा म्याराथन सुरू भएको छ । कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन सुरू भएको हो ।
म्याराथनकाे उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरेका छन् । उनले कर्णालीमा खेलकुद पर्यटनको सम्भावना उच्च रहेको बताए । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले हरेक वर्ष लोकतन्त्र दिवसको अवसरमा जुम्ला रारा अल्ट्रा म्याराथन आयोजना गर्दै आएको छ ।

क्लबका अध्यक्ष सरोज शाहीले म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्ने बताए । उनका अनुुसार जेरो प्वाइन्ट खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ ।

म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिने समेत आयोजकले जनाएको छ । खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो । विदेशी खेलाडीका लागि ७ हजार, नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको थियो ।
म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ । यसैगरी चौथो र पाँचौं हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष शाहीले जानकारी दिए ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन भइरहेको छ । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई खेल संस्कृतिको विकासका लागि म्याराथन आयोजना गर्न गर्दै आएको धावक हरिबहादुर रोकायाले बताए ।

‘विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्लाको रुपमा चिनिन सक्छ,’ धावक रोकायाले भने ।

जुम्लामा यसअघि तीनवटा म्याराथनका इभेन्ट भइसकेका छन् । हरेक प्रतियोगितामा तीन सयदेखि चार सयको हाराहारीमा देशभरका १८ जिल्लाका साथै बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिका लगायत देशका खेलाडीहरु सहभागी भएका थिए । यो वर्ष नेपाल भित्रका १९ जिल्लाका खेलाडी सहभागी छन् ।

याेसँगै अमेरिकाका २, भारतका १ , आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका छन् । रारातालसम्म ८० जना खेलाडी पुग्ने आयाेजकले जनाएको छ ।

Next Post