२५ कात्तिकदेखि देशभर सुरु भएको १२औँ शृंखलाको राष्ट्रिय जनगणना बमंसिरमा १० मा सम्पन्न भएको छ । १५ दिनसम्म चलेको जनगणनामा लिपुलेक, लिम्पियाधुरा, कालापानी र छिटपुट घरपरिवारबाहेक शतप्रतिशत जनसंख्या गणनामा सहभागी भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।
भारतीय अवरोधका कारण जनगणना हुन नसकेको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रमा पनि अत्याधुनिक प्रविधि स्याटेलाइटलगायतको प्रयोग गरेर यथार्थ अवस्था सार्वजनिक गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए । सूचनाका अन्य स्रोत र व्यक्तिमार्फत अनुमानित जनगणना सार्वजनिक गरिने योजनामा विभाग छ । अनुमानित जनसंख्यालाई स्याटेलाइटमार्फत घरसंख्या पत्ता लगाउने र घरमा रहने मानिसको औसत संख्या राखेर अनुमानित जनसंख्या सार्वजनिक गरिनेछ । विभागका अनुसार अहिले त्यो क्षेत्रको जनसंख्या न्यूनतम सात सयदेखि अधिकतम आठ सय रहेको छ ।