चट्याङ पर्दा जुम्लामा एक जनाको मृत्यु, दुई घाइते; पाँच किसानका २५ भन्दा बढी चौपाया नष्ट

हिमशिखर संवाददाता १७ असार २०८३, बुधबार २२:११

जुम्लामा  बुधबार  चट्याङले एक युवकको ज्यान लिनुका साथै दुई जना घाइते भएका छन् भने २७ वटा चौपाया मरेका छन्। जिल्लाको हिमा गाउँपालिका–२ स्थित ओदीको छोटाखर्क क्षेत्रमा भेडा चराइरहेका १९ वर्षीय रबिन्द्र रावत चट्याङको चपेटामा पर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। सोही घटनामा बल रोकाया र जगत रोकाया सामान्य घाइते भएका छन् भने १५ वटा भेडा मरेका छन्। प्रहरीका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले बड्की प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको छ। घटनाको थप विवरण संकलन भइरहेको छ।

यस्तै, चन्दननाथ नगरपालिका–१० को बोहोरागाउँस्थित सिद्धि गणेश सामुदायिक वनमा चट्याङ पर्दा पाँच किसानका १२ वटा खसी–बाख्रा मरेका छन्। दलबहादुर कामी, धनराज विक, ज्योति नेपाली, गोबी सार्की र सिंह नेपालीका चौपाया क्षति भएको प्रहरीले जनाएको छ। यस घटनामा भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

लगातारको वर्षासँगै चट्याङका घटना बढ्दै गएकाले मौसम खराब भएका बेला खुला स्थानमा नजान र आवश्यक सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

Next Post

दैलेखमा फोर्स गाडी कर्णाली नदीमा खस्यो, खोजी कार्य जारी

१७ असार २०८३, बुधबार २२:११
कर्णाली राजमार्गअन्तर्गत दैलेखको साँगेतडा क्षेत्रमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि प्रहरी तथा सुरक्षा टोली घटनास्थलमा पुगेर गाडीको खोजी तथा उद्धार कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार हालसम्म गाडी फेला परेको छैन। दुर्घटनाको कारण, गाडीमा सवार यात्रुको […]

सम्बन्धित समाचार