चन्दननाथमा ‘पर्यटन बोर्ड’ गठन

महेश चाैलागाँई १९ मंसिर २०८०, मंगलवार १०:४०

जुम्लाको चन्दननाथ नगरपालिकामा पालिकास्तरीय पर्यटन बोर्ड गठन भएको छ । कर्णालीका ७९ वटै पालिकामा पहिलो चन्दननाथले पर्यटन बोर्ड गठन गरेको हो ।पर्यटन क्षेत्रबाट जुम्लाई चिनाउन चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतको संयोजकत्वमा ११ सदस्यीय पर्यटन बोर्ड गठन गरिएको नगरपालिका प्रवक्ता नवराज देवकोटाले बताए ।

बोर्डले समग्र नगरको पर्यटन प्रवर्द्धनका लागि प्रचारप्रसार, म्यागेजिन निर्माणलगायतका काम गर्ने प्रवक्ता देवकोटाले बताए । बोर्डको सदस्यमा उपमेयर रामदेवी खड्का,पर्यटन व्यवसायी नोर्बु लामा,सरोज शाही,तोरणसिंह कठायत,घनश्याम नगरकोटी र पर्यटनसँग सम्बन्धित कार्यालयका प्रतिनिधिलाई राखिएको छ ।

नगरपालिकाकै वातावरण विज्ञ,डिभिजन वन कार्यालय,सामाजिक विकास कार्यालय,भौतिक पूर्वाधार कार्यालयलाई सदस्यमा राखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । बोर्डमा संस्कृति विज्ञ राख्नु पर्ने भए पनि हाल राखिएको छैन ।

बोर्डले पर्यटन केन्द्रित गतिविधि गर्न चालू आर्थिक वर्षमा चन्दननाथले ५ लाख विनियोजित गरेको छ । जुम्ला चिनाउने आधार नै पर्यटन भएकोले बोर्ड गठन गरेको मेयर राजुसिंह कठायतले बताए । उनले भने, ‘जुम्ला सम्भावना भएर पनि गरिब बन्यो । ओेझेलमा पर्‍यो । राज्यको उपेक्षामा सदियौँदेखि छ । पर्यटन क्षेत्रमा न्यून लगानी छ । स्थानीय तह भौतिक निर्माणका कार्यमा केन्द्रित भयौँ । त्यसैले चन्दननाथले पर्यटन प्रवर्द्धनमा जोड दिएको हो ।’

उपमेयर रामदेवी खड्काले कृषि,पर्यटन, परम्परागत सस्कृति,भाषा,साहित्य र भेषाभुषासँग पर्यटनलाई जोडेर जिल्लाको विकासमा टेवा पुराउन सकिने बताइन् । त्यसमा नीतिगत रूपमै चन्दननाथ अघि बढेको र पर्यटनसँग महिला र युवा रोजगारीका कुराहरूमा जोडिने उनको भनाइ छ ।

पर्यटन प्रवर्द्धनका लागि चन्दननाथले पर्यटन बोर्ड गठन गर्नु नमुना काम भएको पर्यटन व्यवसायी नोर्बु लामाले बताए । ठोस नीति लगानी र संयन्त्रको अभावले जिल्लाका सम्भावना भएर पनि अपेक्षित पर्यटक आउन सकेका छैनन् । उनले भने,’जुम्लालाई चिनाउन,पर्यटन प्रवर्द्धन गर्न चन्दननाथ जुरमुराएको छ । बोर्डलाई सक्रिय बनाउन जरुरी छ । राज्यलाई नै उत्तरदायी बनाउने गरी जुम्ला पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाउन जरुरी छ ।’

 

Next Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित घले पक्राउ

१९ मंसिर २०८०, मंगलवार १०:४०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका छन् । फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका घलेलाई भन्सारले पक्राउ गरेको हो । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र यो सुन कसको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ । घलेले सुनको प्लेट बनाएर […]