यार्चागुम्बु संकलनका लागि डोल्पा पुगेकी रुकुम पश्चिमकी एक युवतीको मृत्यु भएको छ।
रुकुमको आठबिसकोट नगरपालिका-४ गोतामकोट विष्ट गाउँकी २२ वर्षीया जमुना विष्टको लेक लागेर बिरामी भएपछि ज्यान गएको हो।
सोमबार डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए।
उनका अनुसार यार्चागुम्बु टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गर्दा बाटोमै जमुनाको मृत्यु भएको हो।
मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गरिने र त्यसपछि गोतामकोट ल्याइने तयारी भइरहेको छ।