गुठिचौरमा आजदेखि प्याराग्लाइडिङ महोत्सव

महेश चाैलागाँई २४ भाद्र २०८१, मंगलवार ०८:००

जुम्लाको गुठिचौर गाउँपालिकाले मंगलबार(आजदेखि) प्याराग्लाइडिङ महोत्सव गर्ने भएको छ। भदौ २५ देखि ३० गतेसम्म गुठिचरमा प्याराग्लाइडिङ महोत्सव हुन लागेको हो।

जुम्लाको निकै सुन्दर र आकर्षक पर्यटकीय क्षेत्रमा रुपमा चिनिएको गुठिचौर पाटनमा प्याराग्लाइडिङ महोत्सव गरेर साहसिक पर्यटकीय सम्भावनायुक्त क्षेत्र भनेर विश्वभर चिनाउने कोसिस गरिएको अध्यक्ष दानबहादुर बुढाले बताए।

‘जुम्लादेखि डोल्पाको से-फोक्सुण्डो जाने आन्तरिक तथा बाहृय पर्यटकहरु गुठिचौर पाटन हुँदै जाने भएकाले पनि प्याराग्लाइडिङ उडान उपयुक्त हुने देखिएको छ,’ उनले भने, ‘प्याराग्लाइडिङ उडानको लागि चालक र प्याराग्लाइड पोखरादेखि आउने भएका छन्। आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा गुठिचौरलाई दर्ज गर्न महोत्सव आयोजना गर्न लागिएको हो।’

उनका अनुसार यसअघि नौ वटा प्याराग्लाइडिङ उडाएर परीक्षण गरिसकिएको छ। चालकहरुका अनुसार गुठिचौर प्याराग्लाइडिङ उडानको लागि उपयुक्त क्षेत्र मानिएको छ।

महोत्सवले गुठिचौरमा व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडानको लागि लगानीकर्ताहरुको ध्यान खिच्ने अपेक्षा गरिएको छ पालिकाका सुचना अधिकारी प्रेमबहादुर शाहीले बताए।

उनले भने, ‘लगानीकर्ताहरु भेटिए भने निरन्तर व्यवसायिक उडानको सुरुवातको प्रयास हुनेछ।’

आगामी वर्षदेखि प्याराग्लाइडिङ चालक उत्पादन गर्ने र पालिकाको आफ्नै प्याराग्लाइडिङ खरिद गर्नेबारे समेत छलफल भइरहेको उनको भनाई छ। महोत्सव अवधिमा प्याराग्लाइडिङ चढ्न चाहनेहरुले पालिकाले तयार पारेको टिकट बुकिङ गर्नुपर्ने छ। पालिका भित्रलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँ र बाहिरका आगन्तुकहरूलाई चार हजार रुपैयाँको टिकट दर निर्धारण गरिएको छ।

दुई सय जनाले बुकिङ गरेको खण्डमा १० प्याराग्लाइडिङ बोलाउने तयारी भइरहेको सुचना अधिकारी शाहीले बताए। गुठिचौरको डाब र लाग्न डाँडादेखि प्याराग्लाइडिङ उडाउने रुट निश्चित गरिएको छ। प्याराग्लाइडिङ उडानको लागि नागरिक उड्ययन मन्त्रालयमा अनुमतिको लागि पत्र पठाइसकिएको छ।

गुठिचौर हवाइरुट नपर्ने भएकोले प्याराग्लाइडिङको लागि उपयुक्त क्षेत्र देखिएको पालिकाका प्रवक्ता अर्जुनकुमार महताराले बताए। उनका अनुसार महोत्सव सफल बनाउनका लागि सबै तयारी पुरा भएको छ। महोत्सवको अवसरमा भलिबल प्रतियोगिता र देउडा गीत प्रतियोगिता समेत आयोजना हुने गाउँपालिकाले जनाएको छ।

Next Post

जुम्ला बहुमुखी क्याम्पसमा शिक्षकले गरे तालाबन्दी।

२४ भाद्र २०८१, मंगलवार ०८:००
  जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा तलाबन्दी गरिएको छ। त्रि. वि. आन्तरिक करार प्राध्यापक संघ जुम्ला बहुमुखी क्याम्पस इकाइ समितिले क्याम्पसमा ताला लगाएको हो। सबै कानुनी प्रक्रिया पूरा गरि नियुक्त भएका शिक्षकहरुलाई बेलाबेला अपमान गर्ने, होच्याएर बोल्ने, जिम्मेवारी दिएको अवस्थामा समेत पारिश्रमिक नदिने, श्रम शोषण गर्ने जस्ता अमर्यादित कार्य गरिएको […]