मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक अमलदारको मृत्यु

महेश चाैलागाँई २१ पुष २०८२, सोमबार ११:०५

मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटनामा परी एक जना अमलदारको मृत्यु भएको छ। हनुमान ध्वज गुल्म हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।
मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा हनुमान ध्वज गुल्मका अमलदार तथा चालक हरिसिंह ऐडी रहेका छन्। बैतडीको पाटन–४ बगाडी स्थायी घर भएका ऐडीलाई घाइते अवस्थामा मुगु अस्पताल पुर्‍याइएको थियो। अस्पतालले उनलाई आज बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको हो।
न १ झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ अन्तर्गत पिना प्रहरी चौकीभन्दा अगाडि आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो। आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य गरेको थियो।
दुर्घटनाग्रस्त बोलेरो सडकबाट करिब २ सय मिटर तल खसेको थियो। घाइते चालकलाई राति १० बजे मुगु अस्पताल ल्याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए।
दुर्घटनाको कारण हालसम्म खुल्न सकेको छैन। यद्यपि सो स्थानमा पटक–पटक सवारी दुर्घटना हुने गरेको स्थानीयवासीले बताएका छन्। मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Next Post

एमालेले ताेक्याे कर्णाली प्रदेशका १० जिल्लाका इन्चार्ज

२१ पुष २०८२, सोमबार ११:०५
नेकपा एमालेले कर्णाली प्रदेशका १० जिल्लामा इन्चार्ज तोकेको छ।हालै सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो। ४० वर्षमुनिका युवा केन्द्रीय सदस्य दैलेखका सुशीलकुमार थापालाई एमालेले रुकुमपश्चिमको इन्चार्ज तोकेको छ।रुकुमपश्चिम नेकपाको जनआधार बलियो भएको जिल्ला हो। यस्तै नेकपा एमाले सुर्खेत, कालिकोट, सल्यान, हुम्ला […]