राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन्।
आज पार्टी कार्यालय चःमती जानुअघि उनले राजीनामा दिने चर्चा चलेको थियो। तर शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार अहिलेसम्म उनले महानगर प्रमुख पदबाट कुनै पनि राजीनामा बुझाएका छैनन्।
स्रोतका अनुसार बालेन प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने पनि मेयर पदबाट औपचारिक रूपमा राजीनामा नदिने मनस्थितिमा पुगेका छन्। कानुनी प्रावधानअनुसार उम्मेदवारी दर्ता भएमा मेयर पद स्वतः निष्क्रिय हुने व्यवस्था छ। सोही प्रावधानलाई आधार बनाएर उनी अघि बढ्ने तयारीमा रहेको बताइएको छ।
यदि निर्वाचन सर्ने अवस्था आएमा महानगरपालिकामा पुनः फर्किन सकिने विकल्प खुला राख्ने मनसायसहित उनले राजीनामा नदिने निर्णय गरेको स्रोतको भनाइ छ।
रास्वपामा प्रवेश गरेका बालेन आज पहिलोपटक पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ। उनको स्वागतका लागि पार्टी कार्यालयमा विशेष समारोह आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। साथै, पार्टी कार्यालयमा शाहका लागि विशेष कार्यकक्षसमेत तयार गरिएको छ।



