नेकपा (एमाले) जुम्ला जिल्लाले प्रतिनिधिसभा निर्वाचनकालागि स्थानीय घाेषाणापत्र सार्वजनिक गरेकाेछ। जिल्लाकाे समग्र विकासलाई केन्द्रमा राख्दै आज एक कार्यक्रममार्फत स्थानीय घाेषणा पत्र (बाचा–पत्र ) सार्वजनिक गरेकाेछ ।
शिक्षा, रोजगारी, पूर्वाधार, स्वास्थ्य, पर्यटन र संस्कृतिलाई प्राथमिकतामा राख्दै जुम्लाको दीर्घकालीन विकासका लागि स्पष्ट कार्ययोजना प्रस्तुत गरिएको छ।
बाचा–पत्रमा “डिग्री मात्र होइन, सीप चाहिन्छ” भन्ने नारासहित शिक्षामा गुणस्तर सुधार, प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार, विद्यालय तहमा आईटी र एआई अध्ययनको व्यवस्था गर्ने उल्लेख छ। कर्णाली प्राविधिक शिक्षालय (KTS) लाई कृषि तथा पर्वतीय विश्वविद्यालय निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ।
त्यसैगरी रोजगारी र उत्पादनमुखी जुम्ला निर्माणका लागि जलविद्युत् उत्पादन, सिंचाइ, स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र बजारिकरण गर्दै “Make in Jumla” नीति लागू गर्ने घोषणा गरिएको छ। गिडिखोला जलाधार क्षेत्रबाट करिब २० मेगावाट विद्युत् उत्पादन, विमानस्थल क्षमता विस्तार तथा हवाई इन्धन केन्द्र स्थापना गर्ने योजना पनि समावेश छ।

पर्यटन र संस्कृतितर्फ चन्दननाथ मन्दिर, तातोपानी धारा, गिडिखोला, रारा–सिंजा सभ्यता, ताल, गुफा र ऐतिहासिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उल्लेख छ। रारा–जुम्ला केन्द्रित पदमार्ग, हरियाली पार्क, स्वच्छ तिला नदी अभियान र सांस्कृतिक बोर्ड गठन गर्ने योजना अघि सारिएको छ।
स्वास्थ्य क्षेत्रमा “उपचार अधिकार हो” भन्ने अवधारणासहित गुणस्तरीय स्वास्थ्य सेवा, डिजिटल हेल्थ, टेलिमेडिसिन, २४ घण्टा आधारभूत स्वास्थ्य सेवा, निःशुल्क एम्बुलेन्स र स्वच्छ जुम्ला अभियानलाई प्राथमिकता दिइएको छ।
सडक पूर्वाधारतर्फ कर्णाली राजमार्गलाई दुई लेनमा स्तरोन्नति, वर्षभरि सञ्चालन हुने सडक सञ्जाल विस्तार, जुम्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहुँचसँग जोड्ने योजनाहरू समेटिएका छन्।
उम्मेदवारले भ्रष्टाचार, कुशासन र बाह्य हस्तक्षेपविरुद्ध दृढ अडान लिँदै जुम्लाको न्यायोचित विकास र समृद्धिका लागि मतदातासँग सूर्य चिन्हमा मतदान गर्न अपिल गरेका छन्।


