त्रिशूली नदीमा हराएका दुई बसका तीन यात्रुको शव भेटियो, एक जनाको पहिचान खुल्न बाँकी

हिमशिखर संवाददाता ३० असार २०८१, आईतवार ०६:२४

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा दुईवटा बस खसेपछि हराएका यात्रुको खोजी गर्ने क्रममा तीन वटा शव भेटिएको छ । तीन मध्ये दुई वटा शव पहिरोले बगाएका बसका यात्रु रहेका पहिचान भएको र एक जनाको पहिचान हुन बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । पहिचान खुल्नेमा सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषि पल साह रहेका छन् । साहको शव हिजो बिहान ११ बजे र माझीको शव बेलुका भेटिएको हो । माझीका बुबा र साहका दाजुले सनाखत गर्नुभएको प्रहरी जनाएको छ ।

मृत भेटिएका दुवै यात्रु काठमाण्डौबाट गौरतर्फ जाँदै गरेको बसमा सवार थिए । भारतीय नागरिकको शव दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर तल र नेपाली नागरिकको शव नवलपरासी पूर्वको गैँडाकोट–७ मा पर्ने नदी छेउमा फेला परेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

हिजो रात परेपछि खोजकार्य रोकिएको र अब आज बिहान आठ बजेदेखी पुनः शुरु हुने पनि प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो । अस्ति शुक्रवार विहानै भएको घटनामा परेका दुई वटा बसमा गरी कम्तीमा ५१ जना चढेको बताइएको छ । सडकबाट नदीमा खस्दै गर्दा काठमाण्डौबाट गौर जाँदै गरेको बसका तीन जना यात्रु भने बाँच्न सफल भएका थिए । सुरक्षाकर्मीले अस्ति शुक्रवार दिनभरिको खोजीका क्रममा एउटा बसमा प्रयोग गरिएको पर्दा र केही कपडा मात्रै फेला पारेका थिए ।

हिजो तीन वटा शव भेटिएका हुन् । प्राप्त उपकरण, तालिमप्राप्त जनशक्ति लगायत आफूहरुको सबै समाथ्र्य लगाएर खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सुरक्षाकर्मीले हिजो पानी भित्र हेर्ने ड्रोन लगायत उपकरण पनि प्रयोग गरेका थिए । तर आफन्तले भने खोजी प्रभावकारी नभएको गुनासो गरिरहेका छन् ।

खोजी कार्यमा नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका २५ गरी ५० जना गोताखोर र उनीहरूको सहयोगका लागि थप दुई सय सुरक्षाकर्मी परिचलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । त्रिशूली नदीमा पानीको सतह कम हुँदै गएका कारण आजको खोजी प्रभावकारी हुने प्रहरीको आशा छ । हराएका बसमा रहेका यात्रुमा कम्तीमा सात जना भारतीय नागरिक र बाँकी मध्ये धेरैजसो रौतहट र पर्सा जिल्लाका बासिन्दा हुन् ।

Next Post

सिमलताल पहिराे: गोलाघाटमा भेटियो अर्काे शव

३० असार २०८१, आईतवार ०६:२४
भरतपुर महानगरपालिका- २८ गाेलाघाटमा एक पुरुषको शव भेटिएको छ। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको हो। उक्त शव शुक्रबार बिहान सिमलताल पहिराेमा यात्रुसहित बेपत्ता बसकाे हुन सक्ने अनुमान गरिएकाे छ। शवलाई पाेष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याउने तयारी भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे […]

सम्बन्धित समाचार