कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत कर्मचारी द्वारा तालाबन्दी

महेश चाैलागाँई ३ मंसिर २०८१, सोमबार १७:४५

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा ताला लगाएका छन्। प्रतिष्ठानमा हाल ४०० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमध्ये करिब ७५ स्थायी र बाँकी करार तथा ज्यालादारीमा रहेका छन्। स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया अगाडि नबढेको र न्यायालयबाट निर्णय आए पनि कार्यान्वयन नभएको आरोप लगाउँदै उनीहरुले आन्दोलनको मार्ग अपनाएका हुन्।

२०८० भदौ २१ गते कर्मचारीहरुले आन्दोलन गरेर दुई पक्षीय सम्झौता गरेका थिए, जसमा असोज ८ गते बढुवा पत्र प्रदान गरिएको थियो। तर, अन्य बाँकी स्थायी कर्मचारीहरुको स्तरवृद्धि प्रक्रिया २०८० असोज १ गतेबाट अगाडि बढाउने सहमति कार्यान्वयनमा ढिलाइ भएको आरोप कर्मचारीले लगाएका छन्।

यस विषयमा अदालतले २०८१ भदौ २६ गते कर्मचारीहरुको पक्षमा निर्णय सुनाएपछि पनि कार्यान्वयन नभएको आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले बताएका छन्। २०८१ असोज १६ र कात्तिक ९ मा लिखित निवेदन दिए पनि प्रतिष्ठानका पदाधिकारीहरुले कुनै कदम चाल्न नसकेको उनीहरुको गुनासो छ।

कात्तिक २७ गते पुनः वार्ता भएको र २८ जनाको स्तरवृद्धि गर्ने निर्णय सहमति भएको भए पनि कात्तिक २८ गतेको बैठकले निर्णय अनुमोदन गर्न ढिलाइ गरेको आरोप कर्मचारीहरुले लगाएका छन्।
कर्मचारीहरुले आफ्ना मागहरु सम्बोधन गर्न दबाब दिने उद्देश्यले आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुले चरणबद्ध विरोध कार्यक्रम सार्वजनिक गरेका छन्।

आन्दोलनरत पक्षले प्रतिष्ठानका पदाधिकारीहरुलाई समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन्।
उनीहरुले प्रतिष्ठानको उन्नयन र सेवा प्रवाहमा समस्या उत्पन्न नहोस् भन्ने पक्षमा आफूहरु रहेको तर माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी दिएका छन्। आन्दोलनका कारण प्रतिष्ठानका नियमित सेवा, विशेषतः आकस्मिक सेवाबाहेकका अन्य विभागहरु प्रभावित हुने सम्भावना छ। शिक्षक कर्मचारीले माग सम्बोधन नभए, सेवा ठप्प पार्ने घोषणा गरेका छन्।

Next Post

साइबर अपराधको आरोपमा दुर्गा प्रसाईं पक्राउ

३ मंसिर २०८१, सोमबार १७:४५
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो । प्रसाईंलाई ब्युरो लगिँदै गरेको पनि प्रहरी उपरीक्षक बोगटीले जनाए । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई […]