कम्फा बेसीका बासिन्दा दूषित पानी पिउन बाध्य, स्वास्थ्य जोखिममा स्थानीय

महेश चाैलागाँई २२ श्रावण २०८२, बिहीबार १५:०७

मुगु— रारा छायानाथ नगरपालिका–१२ अन्तर्गत पर्ने कम्फा बेसी गाउँका बासिन्दा अहिले पनि दूषित पानी पिउन बाध्य छन्। सुरक्षित खानेपानीको सुविधा नहुँदा यहाँका करिब ४० घरधुरीका स्थानीयवासी खोल्सो, नदी र पोखरीजस्ता सतही स्रोतको असुरक्षित पानी प्रयोग गर्दै आएका छन्।

स्थानीयका अनुसार विगतमा केही खानेपानीका योजना आए पनि ती योजना प्राविधिक कमजोरी, बजेट अभाव र कार्यान्वयनको कमजोर प्रक्रियाका कारण अधुरै रहेका छन्।

“हामी वर्षौंदेखि खोलाको पानी उमालेर पिउँदै आएका छौं,” स्थानीय खड्क बडुवालले बताए, “बच्चाहरूमा झाडा–पखालाजस्ता समस्या बढेको छ। तर नगरपालिका वा सम्बन्धित निकायले कुनै चासो दिएको देखिँदैन।”

गाउँमा हालसम्म कुनै पनि आधिकारिक फिल्टर प्रणाली जडान गरिएको छैन। प्रमुख पानीका स्रोतहरू खोलानाला तथा पोखरीहरू नै भएको र ती स्थानहरूमा पशुहरू समेत जान सक्ने भएकाले पानी अझ बढी प्रदूषित हुने गरेको स्थानीयहरू बताउँछन्।

स्वास्थ्य संस्थाहरूले पनि दूषित पानीकै कारण बालबालिका, गर्भवती महिला तथा वृद्धवृद्धामा विभिन्न रोगको उच्च जोखिम रहेको चेतावनी दिँदै आएका छन्। स्थानीय स्वास्थ्य चौकीमा पानीजन्य रोगका बिरामीहरू दैनिकजसो पुग्ने गरेका छन्।

स्थानीय भिम बडुवालका अनुसार, “खानेपानीका लागि नापजाँच त वर्षौंअघि भइसकेको हो, तर पाइप त के, योजना कहाँ पुग्यो भन्ने जानकारी समेत छैन।”

वडाका बासिन्दाहरूले सुरक्षित र दीगो खानेपानीको व्यवस्था मिलाउन नगरपालिकासँग पटक–पटक आग्रह गर्दै आएका छन्। तर सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

“हामी पटक–पटक नगरपालिका र वडा कार्यालयमा गएका छौं, तर कुनै ठोस पहल भएको छैन,” स्थानीय युवा राम बहादुर बडुवालले बताए, “अब पनि चासो नदिए आन्दोलन गर्न बाध्य हुनेछौं।”

विकट पहाडी बस्ती कम्फा बेसीमा अझै पनि खानेपानीजस्तो आधारभूत सेवा नहुँदा स्थानीयको स्वास्थ्य जोखिममा परेको छ। दीगो योजना, स्रोतको संरक्षण र प्रभावकारी कार्यान्वयनमार्फत समस्या समाधान गर्न स्थानीयवासीको माग छ।

Next Post

जुम्ला जात्राअघि सरसफाइ

२२ श्रावण २०८२, बिहीबार १५:०७
जुम्लाको सदरमुकाम, बिहानको चिसो हाव  स्याउको सुगन्धसँगै, यो वर्षको ठूलो जात्राको तयारीमा व्यस्त देखिन्छ। कर्णालीकै पुरानो र प्रसिद्ध जात्रालाई स्वागत गर्न बजार क्षेत्र असामान्य चहलपहलमा छ। तर, यसपटक चहलपहलसँगै अर्को दृश्यले पनि ध्यान खिचेको छ झाडू बोकेका सेना, प्रहरी, स्थानीय बासिन्दा र समाजसेवीहरू एकैपटक सडक सफा गर्दै। जिल्ला समन्वय समिति […]