आर्थिक मन्दी, मूल्यवृद्धि र अवैध प्रतिस्पर्धाको दबाबबीच ग्रील तथा स्टील व्यवसायीहरूले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन सुदृढीकरणलाई मुख्य प्राथमिकता बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन्। देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरलाई प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको ३०औँ वार्षिक साधारणसभा राजधानीमा सम्पन्न भएको हो।
साधारणसभामा महासंघका अध्यक्ष ठूलोबाबु श्रेष्ठले अवैध रूपमा बजार बिगार्ने मिस्त्री तथा व्यवसायीविरुद्ध अब कडा कारबाही अनिवार्य भएको बताउँदै, आवश्यक परे मेशिनसमेत नियन्त्रणमा लिनुपर्ने स्थिति आएको उल्लेख गरे। उनले ग्रील व्यवसायलाई उद्योगको रूपमा विकास गर्दै व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बजार निर्माण महासंघको मुख्य लक्ष्य रहेको बताए।
महासचिव विवेकदास श्रेष्ठका अनुसार कच्चा पदार्थदेखि श्रम लागतसम्मको बढ्दो खर्च, कर असमानता, अनियन्त्रित व्यवसाय र गुणस्तरहीन उत्पादनका कारण व्यवसाय क्षेत्र गम्भीर जोखिममा परेको छ। यस्तो परिस्थिति समाधान गर्न महासंघले संरचनागत र कानुनी सुधारका एजेन्डा अघि सारेको उनले बताए।
आर्थिक प्रतिवेदन, वार्षिक प्रगति समीक्षा तथा अद्यावधिक योजनासहितको विस्तृत छलफल भएको साधारणसभाले बैंक ब्याजदरको चाप, निर्माण सामग्री बजारको अस्थिरता, दक्ष जनशक्तिको अभाव र आपूर्ति व्यवस्थाका चुनौतीलाई प्राथमिक रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
साधारणसभामा सहभागी व्यवसायीहरूले देशभरका ग्रील तथा स्टील व्यवसायीलाई एउटै मञ्चमा ल्याई समस्या समाधान र अधिकार संरक्षणमा महासंघको भूमिका थप प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।



