जुम्लामा महिलामाथि जबरजस्ती करणी प्रयासको आरोपमा एक पक्राउ

पीडितको प्रतिकार र स्थानीयको सहयोगपछि आरोपित नियन्त्रणमा, प्रहरीले अनुसन्धान अघि बढायो

महेश चाैलागाँई २९ असार २०८३, सोमबार २१:४६

जुम्ला, साउन १३। जुम्लाको तातोपानी गाउँपालिकामा एक महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति करिब ११ बजे तातोपानी गाउँपालिका–७ निवासी ४३ वर्षीया महिलाको घरमा पाहुनाका रूपमा बसेका तिला गाउँपालिका–३ निवासी ३६ वर्षीय हरीबहादुर घर्तीले महिलामाथि जबरजस्ती करणी गर्ने प्रयास गरेका हुन्।

प्रहरीका अनुसार घटना हुँदा पीडित महिला भान्सामा खाना पकाइरहेकी थिइन्। सोही क्रममा आरोपित भान्सा कोठामा प्रवेश गरी जबरजस्ती गर्ने प्रयास गरेका थिए। महिलाले प्रतिकार गरेपछि स्थानीयवासीको सहयोगमा आरोपितलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनापछि आरोपितविरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी निर्देश बरालले कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।