भागवण्डा मिलेपछि महेन्द्रबहादुर शाहीको मुख्यमन्त्रीको पद जोगियो

हिमशिखर संवाददाता २७ आश्विन २०७७, मंगलवार १७:२८

काठमाडौं । आफ्नै दलका १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि धर्मराउन पुगेको महेन्द्रबहादुर शाहीको मुख्यमन्त्री पद अन्ततः जोगिएको छ । पार्टी केन्द्रको दबाव र प्रदेश नेताहरुबीच भागवण्डा मिलेपछि शाहीको मुख्यमन्त्री पद जोगिएको हो ।

नेकपाभित्रको तीन खेमा (ओली–प्रचण्ड–माधव ) मध्ये प्रचण्ड र नेपाल समूहबीचको सहमति मुख्यमन्त्री पद जोगिनुको महत्वपूर्ण कारण बनेको छ । स्रोतका अनुसार, प्रधानमन्त्री ओलीतर्फका नेताहरुलाई समेत बालुवाटारबाटै ‘यूटर्न’ हुन संकेत दिइएको छ ।

मंगलबार बिहानमात्रै प्रधानमन्त्री ओलीका विश्वास पात्र एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले अविश्वासको प्रस्ताव अगाडि नबढाउन र मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन टेलिफोनबाट दिएका थिए ।

तर, शाहीको मुख्यमन्त्री पद जोगिनुमा प्रदेशस्तरीय नेताहरुको भागवण्डा नै अर्थपूर्ण बन्यो ।

आइतबार नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि राजधानी काठमाडौंमा रहेका नेताहरु समेत सुर्खेत पुगेका थिए । सोमबार दिउँसोदेखि मुख्यमन्त्री शाही र नेपाल समूहका नेताहरुबीच छलफल सुरु भएको थियो ।

राति अबेरसम्म छलफल चले पनि सोमबार सहमति जुट्न सकेन । यसपछि मंगलबार बिहानै प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भयो र जसरी पनि मिल्न दबाव दिइयो ।

मंगलबार बिहानबाट फेरि शुरु भएको छलफलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सात सांसद र पूर्वमाओवादीतर्फका तीन सांसद पछाडि हट्ने अनि प्रदेश मन्त्रिपरिषद् पुनर्गठनको सहमति जुट्यो ।

सहमतिअनुसार, अविश्वासको प्रस्तावमाथि छलफल गर्न बोलाइएको संसदीय दलको बैठकमा नेता नेपाल र माओवादी तर्फका सांसदहरु अनुपस्थित भएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव आफैं अल्पमतमा र्पयो ।

Next Post

संघीय सांसद पहाडीको निधन

२७ आश्विन २०७७, मंगलवार १७:२८
काठमाडौँ — प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ । लामो समयदेखि मिर्गौला र मुटुको समस्याबाट पीडित  पहाडीको उपचारकै क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको केही समयअघि प्रत्यारोपणसमेत गरिएको थियो । नेकपाबाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६।०३७ […]