काबुल :अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता जारी भीषण लडाइँका कारण कम्तीमा ३५ हजार स्थानीय विस्थापित भएका छन् ।
गत महिना अफगान सरकार र तालिवानबीच सुरु भएको शान्ति वार्तापछि दुवै पक्षबीच पहिलो पटक भीषण लडाइँ भएको हो । दुवै पक्षबीच कतारको राजधानी दोहामा वार्ता जारी छ ।
पछिल्लो समय जारी वार्तामार्फत देशमा शान्ति स्थापना हुने अपेक्षा गरेका अफगान नागरिकलाई पछिल्लो भिडन्तले थप चिन्तित पारेको छ । ‘हाम्रो अब केही बाँकी रहेन । घर, सम्पत्ति र बस्तुभाउ सबै गुमायौं,’ नवा जिल्लाका स्थानीय नेता अतिकुल्लाहले भने । आफ्ना परिवारका सदस्य तथा आफन्तहरूले लस्कर गाहमा शरण लिइरहेको उनले बताए । भिडन्तका क्रममा अफगान सेनालाई अमेरिकी सेनाले हवाई कारबाहीमार्फत सघाइरहेको छ । बीबीसीका अनुसार अफगान सैनिक रणनीतिक रूपमा महत्त्वपूर्ण प्रान्तको राजधानी लस्कर गाहलाई तालिवानबाट बचाउने प्रयार जारी राखेको छ ।
दुवै पक्षको भिडन्तपछि हेलमन्द र छिमेकी प्रान्त कान्दाहारमा विद्युत् आपूर्ति बन्द भएको छ । तालिवानको आक्रमणका कारण टेलिफोन तथा अन्य सञ्चार संरचना ध्वस्त भएको जनाइएको छ ।