काठमाडौं : तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको प्रहरी कार्यालयमा जानकारी दिएर जानुहोला । तपाईंको घर वा डेराको सुरक्षा नेपाल प्रहरीले गर्छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् ।
‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले राजधानीसँग भने ।
प्रहरीले दसैंलगायतका चाडलाई लक्षित गरी सुरक्षा योजना समेत लागु गरिसकेको छ । दसैंसहितका चाडमा हुन सक्ने सम्भावित घटना रोक्न र सुरक्षाका लागि भन्दै देशभर ४८ हजार ८ सय ३० जना प्रहरी जनशक्ति परिचालनसमेत गरिएको हो ।
डीआईजी पोखरेलले घर छाड्दा सोबारेको सूचना अथवा फोटो सामाजिक सञ्जालमा नराख्नसमेत भनेका छन् । यस्तै, नजिकका वा विश्वासिलो छिमेकीलाई हेरचाहका लागि आग्रह गर्न पनि भनेका छन् ।
‘कसैले पनि घर वा डेरा छाडेर अन्यत्र जाँदा सामाजिक सञ्जालमा लेख्ने वा फोटो राख्ने नगरौं, त्यसो गर्दा सुरक्षामा असर पर्छ । बरु नजिकको वा विश्वासिलो छिमेकीलाई हेरचाह गर्न भनौं,’ डीआईजी पोखरेलले भने ।
प्रहरीले सुरक्षा जोखिम मानिएका क्षेत्रमा कुकुर र ड्रोनको समेत प्रयोग गर्ने सुरक्षा योजनामा उल्लेख छ । यसबाहेक हरेक क्षेत्रमा आपतकालीन फोर्ससमेत रहनेछन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले हरेक प्रदेशमा डीआईजी र जिल्लामा प्रहरी प्रमुखको नेतृत्वमा कमान्ड फोर्ससमेत राखिएको बताए । सो फोर्सले आपतकालीन अवस्थामा प्रहरी परिचालनको अधिकार राखेको हुन्छ ।