दैलेख सदरमुकामको अवस्था चिन्ताजनक, स्वास्थ्य संकटकालको तयारी

हिमशिखर संवाददाता १४ कार्तिक २०७७, शुक्रबार १४:४९

दैलेखः नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्कासहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि दैलेख सदरमुकामको अवस्था चिन्ताजनक बनेको छ ।

नारायण नगरपालिका– १ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठसहित बुधबार र बिहीबार स्वाब संकलन गरिएका १७ जना सबैमा कोरोना संक्रमण पुष्टि भएपछि दैलेख सदरमुकाममा स्वास्थ्य संकटकालको तयारी गरिएकोछ ।

दैलेख सदरमुकामभित्र काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, व्यापारी र होटेल व्यवसायीहरूमा कोरोना संक्रमण देखिएको छ । काठमाडौंबाट व्यापार–व्यवसायसँगै कोरोना गाउँसम्म पुगेको अनुमान जिल्ला प्रशासन कार्यालय दैलेखले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मानिसको स्वास्थ्य पहिलो कुरा भएकोले दसैँसँगै कात्तिक १५ गतेसम्म आवतजावतमा कडाइ गरिएको भए पनि संक्रमण फैलिन सक्ने सम्भावना बढेकोले दैलेख सदरमुकाममा स्वास्थ्य संकटकाल लगाउनेबारेमा बिहीबार छलफल गरिएको बताए ।

दैलेख सदरमुकामभित्रै सक्रिय संक्रमितहरूको संख्या दुई सय बढी पुगेको छ । ज्येष्ठ नागरिक, युवा, युवती र महिलामा संक्रमण देखिएको छ । जिल्लाका संक्रमित पाँचजनाको अवस्था चिन्ताजनक भएपछि थप उपचारका लागि सुर्खेत र नेपालगन्ज लगिएको छ ।

नेपालगन्ज पुगेका दैलेखका संक्रमितमा निमोनियालगायतका लक्षणहरूसमेत देखिएपछि अवस्था चिन्ताजनक भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

Next Post

नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा: राप्रपा अध्यक्ष थापा

१४ कार्तिक २०७७, शुक्रबार १४:४९
काठमाण्डौ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देश अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको प्रतिस्पर्धा स्थल बन्ने खतरा बढेकाले देशको स्वतन्त्रता र अस्तित्वबारे सबै सचेत हुनुपर्ने बताएका हुन् । उनले भारत र चीनसँगको सम्बन्धबारे सत्तारुढ दल र प्रमुख प्रतिपक्षी […]