प्रहरीको कुटाइबाट बालकको मृत्यु भएकाे भन्दै स्थानिय द्वारा जिप्रका घेराउ , खलंगा तनावग्रस्त

रबि नेपाली ६ फाल्गुन २०७७, बिहीबार १६:२९

जुम्ला :प्रहरीको कुटाइबाट स्थानीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गर्दा खलंगा बजार तनावग्रस्त भएको छ ।

गुठिचौर गाउँपालिका–३ का १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । बुढासहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

उनलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । ‘जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको हो’, उनले भने, ‘मृतकका आफन्तले भने प्रहरीको कुटाइबाट मृत्यु भएको भन्दै प्रहरी कार्यालय घेराउ गर्न आएपछि स्थिति तनावग्रस्त भएको हो । भीडलाई तितरबितर गर्न लाठीचार्ज र अश्रुग्यास प्रहार गरिएको हो ।’

१४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुटामा चोट लागेर सुन्निएको अवस्थामा उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए ।

ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आईसियुमा राखेर उपचार थालिएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक अनुपमंगल समालले बताए । अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए ।

‘उनको श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई आईसियुमा राखेर उपचार थालिएको थियो’, उनले भने, ‘जमेको रगतका टुक्राहरु फोक्सामा पुगेका कारण बिरामीलाई बचाउन सकिएन । अस्पतालले बिरामीलाई बचाउन अथक प्रयास गरेको हो ।’

मोबाइल चोरी गरेको आरोपमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ल्याएर निर्मम तरिकाले कुटपिट गरेका कारण बुढाको मृत्यु भएको आफन्तले बताइरहेका छन् ।

Next Post

जुम्लामा प्रभु बैंकको २१३ औँ शाखा उद्घाटन

६ फाल्गुन २०७७, बिहीबार १६:२९
जुम्लामा प्रभु बैंकले २१३ औं शाखा उद्घाटन गरेको छ। आइतबार चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले शाखा उद्घाटन गरेकि हुन। संघियतापछि जुम्लामा बैंक तथा वित्तिय क्षेत्रहरुको स्थापना उल्लेखीय रुपमा भइरहेको छ, कर्णाली प्रदेश राजधानीपछिको दोस्रो ठुलो शहरका रुपमा रहेको जुम्लामा आर्थिक गतीविधि बढ्दै गएपछि अधिकांश बैकङहरुको रुचिको क्षेत्रमा समेत जुम्ला परेको […]