नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले अन्ततः कुलमान घिसिङलाई नियुक्त गरेको छ । मुलुकबाट लोडसेडिङ सदाका लागि अन्त्य गरेका घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनः विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो ।
घिसिङले आज नियुक्ति पत्र बुझेर पदबहाली गर्दै छन् । कुलमानकाे कमब्याक सगै प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणीमा बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको पहलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रस्ताव गरेका थिए । सोहीअनुरूप मन्त्री भुसालले मन्त्रिपरिषद्को बैठकमा प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।