सुर्खेत
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) अन्तर्गत कर्णाली प्रदेशमा सञ्चालित शिक्षण संस्थाहरूका लागि संस्थागत गुणस्तर सुनिश्चितता र प्रत्यायन (क्युएए) सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम माघ १४ गते वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य प्राविधिक शिक्षालयहरूलाई संस्थागत प्रत्यायनका लागि अभिप्रेरित गर्नु रहेको थियो ।कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले गर्नुभएको थियो ।
उद्घाटन मन्तव्यका क्रममा मन्त्री भण्डारीले प्रदेशका धेरैजसो प्राविधिक शिक्षालयमा सञ्चालित कार्यक्रमहरूमा युवाहरूको आकर्षण घट्दै गइरहेको अवस्था उल्लेख गर्दै शिक्षालयको गरिमा जोगाउन गुणस्तर अभिवृद्धि गर्नु अनिवार्य रहेको बताउनु भयो ।

वहाँले संस्थागत गुणस्तर सुनिश्चितता र प्रत्यायनले प्राविधिक शिक्षा र श्रम बजारको आवश्यकताबीच रहेको दूरीलाई कम गर्ने र युवाहरूमा प्राविधिक शिक्षाप्रति विश्वास जगाउने आशा व्यक्त गर्नुभयो। दुई दिनको छलफलबाट प्राप्त सल्लाह सुझाव मन्त्रालयले आगामी नीति, बजेट तथा कार्यक्रममा समावेश गर्ने प्रतिवद्धतासमेत वहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा सीटीईभीटी कर्णाली प्रदेशका परीक्षा शाखा प्रमुख ध्रुव प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सीटीईभीटीका उपनिर्देशक खेमराज पोख्रेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो । साथै सामाजिक विकास मन्त्रालयका शैक्षिक विकास महाशाखा प्रमुख सुवर्ण कुमार खड्काले स्व:मूल्याङ्कन मार्फत प्राविधिक शिक्षालयहरूको गुणस्तर सुधारका क्षेत्रहरू पहिचान गरी कार्य गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

उद्घाटन सत्रको समापन गर्दै सीटीईभीटी कर्णाली प्रदेश कार्यालयका का.मु. निर्देशक गोविन्द कुमार श्रेष्ठले राष्ट्रिय शिक्षा नीति, २०७६ ले पहुँच र गुणस्तर दुवैलाई प्राथमिकता दिएको उल्लेख गर्नुहुँदै विगतका वर्षहरूमा पहुँचको विस्तार भए तापनि आगामी दिनमा गुणस्तर सुधारमा जोड दिनु पर्ने बताउनु भयो । वहाँले क्युएए (QAA) प्राप्त गरेपछि शिक्षालयहरूले आधिकारिक मान्यता पाउने, विद्यार्थीले गुणस्तरीय शिक्षा र पहिचानयुक्त प्रमाणपत्र पाउने र अभिभावक तथा रोजगारदातासमेत गुणस्तरको सवालमा ढुक्क हुने अवस्था सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।

सीटीईभीटीका लेखा अधिकृत कृष्ण बहादुर खड्काले सञ्चालन गर्नुभएको उद्घादन सत्रपश्चात अभिमुखीकरण कार्यक्रमका प्राविधिक सत्रहरू खेम राज पोखरेल र सागर मणि न्यौपानेले सञ्चालन गर्नु भएको थियो । प्रशिक्षणका क्रममा सहभागीहरूलाई गुणस्तर सुनिश्चितता सम्बन्धी ७३ वटा सूचक, ३०० उपसूचक र १५०० वटा बेन्चमार्कहरूका बारेमा सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराइएको थियो ।
बाह्य मूल्याङ्कन अगाडि शिक्षालय आफैँलाई आफ्नो अवस्था बुझ्न र सुधार गर्न यो कार्यक्रमले मद्दत पुर्याउने अपेक्षा गरिएको छ । सामग्रीको गुणस्तर मापन गर्ने ‘नेपाल स्ट्याण्डर्ड’ (NS) चिह्न जस्तै शिक्षालयको लगानी, प्रक्रिया र प्रतिफलको गुणस्तर सुनिश्चित गर्ने कडीका रूपमा प्रत्यायनलाई लिइएको छ । कार्यक्रममा कर्णाली प्रदेशका जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, सल्यान, दैलेख, रुकुम (पश्चिम) लगायतका जिल्लाहरूका १५ वटा प्राविधिक शिक्षालयका प्रमुख तथा सम्भावित क्युएए (QAA) फोकल व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको आयोजना नेपाल सरकार र स्विजरल्याण्ड सरकारको संयुक्त प्रयासमा सञ्चालित युवाहरूका लागि गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (क्वालिटी) परियोजनाले गरेको थियो ।



