घण्टी र हलाे एउटै हाे भनेर भ्रम फैलाइयाे– विनिता कठायत

महेश चाैलागाँई २१ माघ २०८२, बुधबार १२:१३

जुम्लामा चुनावी मैदान तात्दै गएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी प्रतिनिधिसभा सदस्य उम्मेदवार बिनिता कठायतले राप्रपाका उम्मेदवार ज्ञानेन्द्र बहादुर शाहीमाथि खुलेआम दुष्प्रचारको आरोप लगाएकी छन्।

बुधबार बिहान रास्वपा जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा कठायतले शाहीले गाउँ–गाउँमा पुगेर ‘प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टी एउटै हो’ भन्ने भ्रम फैलाएको बताइन्। उनले यसलाई मतदातालाई झुक्याउने नियोजित प्रयासको संज्ञा दिँदै कडा आपत्ति जनाइन्।
“ठोस एजेण्डा नहुँदा झुट र भ्रमको सहारा लिइँदैछ,” कठायतको आरोप छ। उनले शाहीले झुटको सीमा नाघिसकेको भन्दै यस्तो गलत प्रचार तत्काल बन्द नगरे मतदाता सामु माफी माग्न बाध्य हुने चेतावनी दिइन्।

त्यसैगरी, काठमाडौंबाट आएदेखि आफूहरू निरन्तर चुनावी अभियानमा रहेको उल्लेख गर्दै उनले ‘बालेन साहलाई जुम्ला आउन नदिएको’ भन्ने हल्ला पूर्ण रूपमा झुट भएको दाबी गरिन्। “यो कुरा शतप्रतिशत गलत हो,” उनले स्पष्ट पारिन्।
कठायतले ज्ञानेन्द्र शाही यसअघि रास्वपाबाट टिकट माग्दै सुर्खेतबाट चुनाव लड्ने तयारीमा रहेको तर अहिले उल्टै गलत सूचना फैलाइरहेको आरोपसमेत लगाइन्।
“रास्वपा संविधान मान्ने दल हो। अन्त्य भइसकेको राजतन्त्रको पक्षमा उभिने व्यक्तिसँग हाम्रो कुनै पनि प्रकारको गठबन्धन हुँदैन,” उनले भनिन्।
गठबन्धनको हल्ला निराधार भएको दाबी गर्दै उनले फागुनको पहिलो हप्तामै बालेन साह र रवि लामिछाने जुम्ला आएर सत्य कुरा जनतालाई सुनाउने दाबीसमेत गरिन्।
उनले अन्त्यमा प्रश्न गरिन्— “घण्टी र हलो एउटै हो भनेर जनतालाई भ्रममा पारेर राजनीति कति दिन चल्छ ?”

Next Post

गीतभन्दा ठूलो संघर्ष : बेल बहादुर परियारको सांगीतिक यात्रा

२१ माघ २०८२, बुधबार १२:१३
लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो बर्दिबासमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बुधबार गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास […]