लोक तथा दोहोरी गायक बेल बहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो बर्दिबासमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बुधबार गौतम होटल, बर्दिबासमा सम्पन्न कार्यक्रममा मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापा र बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले संयुक्त रूपमा भिडियो विमोचन गरेका हुन् । कार्यक्रममा भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकलाई भिडियो प्रदर्शन गरिएको थियो ।
गीतमा बेल बहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ भने शब्द तथा संगीत स्वयं परियारकै रहेको छ । गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ राजिव शाहले गरेका हुन् । भिडियोमा सन्जिब ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । निर्देशन मिलन श्रेष्ठले गरेको भिडियोको कोरियोग्राफी राजाराम सिंखडाले गरेका छन् भने छायाङ्कन सन्तोष तिमल्सिनाले गरेका हुन् ।
कार्यक्रमका विशिष्ट अतिथि मेयर प्रह्लाद कुमार क्षेत्रीले स्थानीय स्तरमा रहेका प्रतिभालाई प्रोत्साहन गर्दै उनीहरूलाई राष्ट्रिय पहिचान दिलाउन आवश्यक रहेको बताए । उनले नगरपालिकाले सांस्कृतिक तथा सिर्जनात्मक क्षेत्रमा योगदान दिने कलाकारलाई सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख अतिथि सारदा देवी थापाले गायक परियारले लामो समयदेखि लोक तथा दोहोरी गीतको क्षेत्रमा पुर्याउँदै आएको योगदानको उच्च मूल्याङ्कन गरिन् । उनले निरन्तर संघर्ष र साधनाबाट स्थापित भएका कलाकारलाई राज्य र सञ्चार माध्यमले उचित स्थान दिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा बोल्दै गायक परियारले आफ्नो सांगीतिक यात्राका अनुभव साझा गर्दै वर्तमान समयमा स्रष्टाले सामना गर्नुपरेका चुनौतीबारे चर्चा गरे । उनले नयाँ गीतलाई दर्शक–श्रोताले मन पराइदिने विश्वास व्यक्त गरे।
विमोचन कार्यक्रममा समाजसेवी, पत्रकार, राजनीतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण बिनोद ढुङ्गेलले गरेका थिए ।
मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको गीत
‘फूल खसिगो, माया बसिगो’ गायक बेल बहादुर परियारको आफ्नै युट्युब च्यानल ‘बेल बहादुर परियार अफिसियल’ मार्फत सार्वजनिक गरिएको छ ।
गीतको लिङ्क :



